कर्णाली प्रदेश

खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु

सल्यान । सल्यानमा खोलाले बगाउँदा दुई बालबालिकाको मृत्यु भएको छ । दार्मा गाउँपालिका–६ मलिवाङ्ग निवासी दुर्गा केसीका छोराछोरीलाई स्थानीय मलिवाङ्ग खोलाले शनिबार बेलुका बगाउँदा मृत्यु भएको हो ।

मृत्यु हुनेमा केसीका २ वर्षीय छोरा मोहन केसी र ६ वर्षीया छोरी रेखा केसी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । रुकुमको नुवाकोटमा रहेको मामाघरमा आमासहित गएका उनीहरु घर फर्कने क्रममा खोलाले बगाएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायब उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

खोलाले बगाएर बेपत्ता बनाएका बालबालिकाको इलाका प्रहरी कार्यालय फारुला र स्थानीयवासीले शनिबार रातभरि नै खोजी गरेका थिए । मृतक मोहनको लास शनिबार राति नै फेला परेको भए पनि रेखाको लास भने बगाएको स्थानदेखि ३०० मिटर तल आज बिहान फेला परेको प्रहरीले जनाएको छ । खोलाले बगाएर घाइते भएकी २८ वर्षीय मृतक बालबालिकाकी आमा पूर्णिमा केसीको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । बुबा भने वैदेशिक रोजगारीका सिलसिलामा मलेशियामा छन् ।