उर्जा

घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ सम्मान

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘पर्सनालिटी अफ दी इयर’ अवार्डबाट सम्मान गरिने भएको छ ।

नेपालको ऊर्जा क्षेत्रमा विशिष्ट योगदान पु¥याई उज्यालो नेपाल निर्माणमा महत्वपूर्ण काम गरेको भन्दै कार्यकारी निर्देशक घिसिङलाई इमेज च्यानलले सो सम्मान प्रदान गर्न लागेको हो । यसअघि सरकारले गणतन्त्र दिवस–२०७४ को अवसरमा घिसिङलाई सुप्रबल जनसेवाश्री पदक प्रदान गरेको थियो । दुई वर्षअघि कार्यकारी निर्देशकमा नियुक्त भएका घिसिङले कुशल व्यवस्थापनमार्फत मुलुकले भोगेको विद्युत् कटौती समस्या समाधानमा योगदान पु¥याएका थिए ।

घिसिङको नेतृत्वमा आर्थिक वर्ष २०७२/७३ मा रु आठ अर्ब ८९ करोड खुद नोक्सानीमा रहेको प्राधिकरण आव २०७३/७४ मा रु एक अर्ब ५१ करोड खुद नाफा कमाउन सफल भएको थियो ।

आव ०७४/७५ मा प्राधिकरणको नाफा रु एक अर्ब एक करोड आर्जन हुने प्रक्षेपण गरिएको छ । सञ्चालन नाफा रु सात अर्ब ८६ करोड रहेको छ । घिसिङकै नेतृत्वमा गत आवमा विद्युत् चुहावट २०.४५ प्रतिशतमा सीमित भएको छ । जुन प्राधिकरणको इतिहासमा सबैभन्दा कम चुहावट हो । जसमध्ये प्रसारण र वितरण प्रणालीमा भएको चुहावट क्रमशः करीब ५.५ प्रतिशत र करीब ४.५१ प्रतिशत रहेको छ । चालू आवमा विद्युत् चुहावटलाई १८.५ प्रतिशतमा झार्ने लक्ष्य तय गरिएको छ ।

यसैगरी गीत सङ्गीत क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउनुभएका वरिष्ठ सङ्गीतकार प्रकाश गुरुङलाई ‘इमेज लाइफटाइम अचिभमेन्ट अवार्ड’बाट सम्मान गरिनेछ । च्यानलले यस पटक २०७४ साल असार १ गतेदेखि २०७५ साल जेठ मसान्तसम्म सार्वजनिक भई दर्ता भएका नेपाली गीत र म्यूजिक भिडियोलाई पनि मनोनयनमा समावेश गरेको छ । विभिन्न १७ विधाका मनोनयनमा परेका पाँचमध्येबाट उत्कृष्ट चयनको लागि प्राविधिक मत सङ्गीत क्षेत्रका जानकारबाट नै लिइने छ । गत वर्षहरुमा जस्तै यस वर्ष पनि गीत, सङ्गीत, रचनालगायतका विभिन्न १८ विधाका उत्कृष्ट ५–५ मनोनयन सोमबार सार्वजनिक गरिएको हो ।