कृषि

‘सुन्तला जोन’ कार्यक्रम शुरु

कावासोती । नवलपरासीको नवलपुरमा प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको छ ।

सुन्तलाको राम्रो उत्पादन हुँदै आएको नवलपुरको पहाडी क्षेत्रमा हाल रहेको उत्पादनलाई वृद्धि गदै व्यवसायीकरण गराउन ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको हो । यहाँ कम्तीमा ५०० हेक्टर क्षेत्रफलमा सुन्तला जातका फलफूल उत्पादन हुने भए पछि कार्यक्रम लागू भएको बताइएको छ ।

गैँडाकोट नगरपालिकाको पहाडी क्षेत्र वडा नम्बर १८, बुलिङटार गाउँपालिकाको सबै क्षेत्र, बौदिकाली गाउँपालिकाका तीन वडा, हुप्सेकोट गाउँपालिका–५ र देवचुली नगरपालिका–६ लाई समेटेर ‘सुन्तला जोन’ कार्यक्रम शुरु गरिएको छ । उक्त कार्यक्रम शुरु भएपछि सुन्तला खेती गर्ने कृषकलाई लाभ पुग्ने कृषक गणेशबहादुर रानाले बताए ।

सो कार्यक्रम शुरु गरिएको चालू वर्षमा समूह तथा सहकारीको विवरण अध्यावधिक, बगैँचा व्यवस्थापन, १०० हेक्टर क्षेत्रफल विस्तार, सिँचाइ र गोठ सुधारका कार्यक्रम गरिने वरिष्ठ कृषि अधिकृत विष्णुप्रसाद शर्माले जानकारी दिए । हाल रहेका सुन्तला बगैँचा व्यवस्थित नरहेका, सुन्तलाका बिरुवासँगै मकै तथा कोदो लगाउने गरिएको र काँटछाट गर्ने काम नभएकाले प्रारम्भिक रुपमा यसलाई व्यवस्थित गरिने उनले बताए । घरको मललाई व्यवस्थित बनाउन ५० गोठ सुधारको कार्यक्रमसमेत सञ्चालन गरिने बताइएको छ ।

सुन्तला, कागती, निबुवा, भोगटे, मौसमलगायतका सुन्तला जातका फलफूल बालीको उत्पादन बढाउन तथा बजारीकरण गर्न उक्त कार्यक्रमले सहयोग पु¥याउने उहाँले बताउनुभयो । यस वर्ष रु एक करोड २१ लाख बराबरको कार्यक्रम गरिने छ । कार्यक्रममार्फत सुन्तला जातका बिरुवामा ५० प्रतिशत, सिँचाइका लागि ८५ प्रतिशत, कृषि औजारका लागि ५० र सङ्कलन केन्द्र निर्माणका लागि ८५ प्रतिशत अनुदान प्रदान गरिने उनले जानकारी दिए । आगामी आर्थिक वर्षमा २० हजार बिरुवा उत्पादन गर्ने गरी नर्सरी निर्माणको योजना तयार गरिएको छ ।

तीन तले पुल निर्माण

नवलपरासीको मध्यबिन्दु नगरपालिका–२ सेहरी र वडा नम्बर ६ भडरा जोडने गरी उल्टी खोलामा तीन तले पुल निर्माण गरिएको छ । समाजसेवी लक्ष्मी ज्ञवालीले व्यक्तिगत खर्चमा रु एक करोड पाँच लाख पाँच हजार ५५ को लागतमा पुल निर्माण गर्नुभएको हो । पुलको पहिलो तलामा सवारी तथा दोस्रो तलामा साइकल, मोटरसाइकल चलाउन र पैदलयात्री हिँड्न मिल्ने गरी निर्माण गरिएको छ ।

तेस्रो तलामा आपत्कालीन अवस्थामा बस्न मिल्ने र अवलोकन गर्न मिल्ने गरेर पुल निर्माण गरिएको निर्माणकर्ता ज्ञवालीले बताए । नब्बे फिट लम्बाइ र २८ फिटको उचाइ रहेको पुलको माथिल्लो तलामा शौचालय तथा खानेपानीको व्यवस्था गराइने उनले जानकारी दिए ।