खस्यौली । निजी विद्यालयमा शैक्षिक गुणस्तर बढाउन नैतिक शिक्षालाई प्राथमिकतामा राख्न शिक्षक सहमत भएका छन् । आज रुपन्देहीको सैनामैना नगरपालिकामा रहेका विद्यालयमा कार्यरत शिक्षक तथा शिक्षिकालाई सूचना प्रविधिमा अध्यापन गराउने विषयमा दिएको तालीममा उनीहरुले नैतिक शिक्षाबाट सभ्य, संस्कारयुक्त समाजको निर्माण हुने विचार व्यक्त गरे ।
उक्त अवसरमा सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्कीले नैतिक शिक्षाको बलमा नै शैक्षिक गुणस्तर बढ्ने उल्लेख गर्दै अहिले सबै विद्यालयमा नैतिक शिक्षाको अभाव देखिएको छ भने। उनले अहिलेको समयमा सूचना, प्रविधिको आत्मसाथ गर्दै अघि बढ्न आवश्यक भएकोमा जोड दिए।
सैनामैना संस्थागत विद्यालय सङ्गठनका अध्यक्ष कृष्णप्रसाद शर्माले नैतिक शिक्षा सबैकोे चासोको विषय भएको उल्लेख गर्दै नैतिक शिक्षालाई अध्यापन गराउन आफूहरु उत्सुक भएको बताए । १८ निजी विद्यालय रहेको सैनामैनामा करीब ५०० शिक्षक तथा शिक्षिका छन् ।