समाचार

प्रधानमन्त्री भन्छन्ः हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काऔं

काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले वृक्षरोपणमा भन्दा तिनलाई संरक्षण गर्ने र हुर्काउनेमा प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । राष्ट्रिय वृक्षरोपण दिवसको अवसरमा आज ‘कोटेश्वर–कलङ्की सडकखण्डमा वृक्षरोपण शुभारम्भ’ गर्दै उनले भने, “हामीले रोपेका बिरुवालाई आफ्ना सन्तान सरह माया गरेर हुर्काउनुपर्दछ । अबको प्रतिस्पर्धा बिरुवा संरक्षण गर्नेमा हुनुपर्दछ ।”

उनले आफ्ना सन्तान सरह बिरुवाको संरक्षण गरेर हुर्काउन आग्रह गरे । सोही अवसरमा प्रधानमन्त्री ओलीले कोटेश्वर सडकको किनारमा नासपातीको बिरुवा रोपेका छन् । सरकारले यस वर्षदेखि असार १४ गतेलाई राष्ट्रिय वृक्षरोपण दिवसका रुपमा मनाउने भएको छ । उनले वृक्षरोपण दिवस सरकारको मात्र नभएर गैरसरकारी संस्था र व्यक्तिको पनि कार्यक्रम भएको बताए ।

“यो सरकारको मात्र होइन जनजनको कार्यक्रम हो”, उनले भने “हाम्रा पूर्खाले बिरुवा र मानवको सम्बन्ध उहिल्यै पत्ता लगाएका थिए । त्यसको धार्मिक, वातावरणीय, जैविक आदि उपयोगिता व्यवहारबाटै थाहा पाएर बिरुवाको संरक्षण गर्थे । हामीले पनि त्यो कुराको अनुकरण गर्नुपर्दछ ।”

प्रधानमन्त्री ओलीले वन क्षेत्र भनिए पनि नेपालका कतिपय क्षेत्रमा वन नभएकाले त्यस्ता ठाउँलाई साँच्चिकै वन क्षेत्र बनाउनुपर्ने बताए । आउने आर्थिक वर्षमा बढीमा पाँच करोड बिरुवा रोप्ने सरकारको लक्ष्य रहेको उनले जानकारी दिए ।

कार्यक्रममा वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले आर्थिक, सामाजिक विकासका लागि वातावरण प्रवर्धन गर्नका लागि बिरुवा रोपिएको बताए । उनले शहरको र्सौन्दर्य र धुलोधुवाँ, प्रदूषणलाई नियन्त्रण गर्न सडक किनारामा रोपिएका बिरुवाले सहयोग पु¥याउने बताए।

उनका अनुसार अझै पनि ३१७ स्थानीय तह वनरहित रहेकाले ती स्थानीय तहलाई यसै आर्थिक वर्षमा हराभरा बनाइने बताए । सरकारले उक्त दिवसका अवसरमा कोटेश्वरदेखि कलङ्कीसम्म आजदेखि वृक्षरोपणको शुरुवात गरेको छ । आगामी आर्थिक वर्षसम्म करीब दुई हजार ७०० बिरुवा रोपिने वन तथा भूसंरक्षण विभागका उपमहानिर्देशक डा राजेन्द्र केसीले जानकारी दिए । उनले रोपिएका बिरुवा महानगरपालिका, वडा कार्यालय र आफ्नो घर अगाडि रहेका बिरुवालाई सम्बन्धित स्थानीयवासीले संरक्षण गर्ने बताए ।

प्रधानमन्त्री ओलीसँगै गृहमन्त्री रामबहादुर थापा ‘बादल’, अर्थमन्त्री डा युवराज खतिवडा, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलगायत मन्त्रीगणले समेत बिरुवा रोप्नु भएको थियो । कोटेश्वर–कलङ्की सडकखण्डमा जिन्को वाइलोवा, असारे फूल, जाकारण्डा, कल्की, तेजपात, कपुर, राजवृक्ष, पैँयुलगायत बिरुवा रोपिने विभागका उपमहानिर्देशक केसीले जानकारी दिए ।

युवा सङ्घद्धारा आठ सय वृक्षरोपण

यसैगरी युवा सङ्घ नेपालले करीब आठ सय वृक्षरोपण गरेको छ । सङ्घका संयोजक रामप्रसाद सापकोटाले ललितपुरको एकान्तकुनामा तीनजना सङ्घका सदस्यले वृक्षरोपण गरेको जानकारी गराए ।