गण्डकी प्रदेश

कालीगण्डकी करिडोरमा सुख्खा पहिरो, २०० सवारीसाधन अलपत्र

बागलुङ । सुख्खा पहिरोका कारण कालीगण्डकी करिडोरको बागलुङ खण्डअन्तर्गत मालढुङ्गा–टाकुरी सडकखण्ड अवरुद्ध भएको छ ।

बागलुङ नगरपालिका–१३ गलुवामा बुधबार बिहान ६ बजे खसेको सुख्खा पहिरोले सडक अवरुद्ध भएको हो । सडक अवरुद्ध भएका कारण जिल्ला सदरमुकाम बागलुङबजारदेखि दक्षिण जैमिनी र बरेङ गाउँपालिकामा चल्ने सवारीसाधन रोकिएका छन् । वैकल्पिक मार्गबाट सवारी पठाउने तयारी भइरहेको भए पनि बागलुङ–कुश्मिशेरा कृषि सडक कालोपत्रको काम चलिरहेको र मालढुङ्गा–लहरेबर–गिठे–कुश्मीशेराखण्डमा समेत सडक ढलानको काम भइरहेका सावारीसाधन आवतजावतमा अवरोध भएको हो ।

निर्माणाधीन सडकलाई सहज बनाएर सवारी चलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । बिहानदेखि रोकिएका सवारीलाई सहज आवातजावतको व्यवस्था मिलाउने प्रयास भइरहेको प्रहरी निरीक्षक दीपक रिजालले बताए ।

सुख्खा पहिरो हटाएर करिडोर खुलाउने प्रयाससमेत थालिएको छ । बागलुङ–कुश्मिशेरा सडकखण्डमा कालोपत्रको काम गरिरहेको निर्माण कम्पनी कर्ण बिल्डर्सले डोजर पठाएर अवरोध हटाउने काम थालेको जनाएको छ । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङमा चल्ने साना तथा ठूला गरी झण्डै २०० सवारीसाधन प्रभावित भएका छन् ।