गण्डकी प्रदेश

फागुलक्षित मेला/उत्सव स्थगित: भीडभाड नगर्न, रङ/पानी नछ्याप्न आग्रह

बागलुङ । कोरोना भाइरस (कोभिड–१९) को जोखिमलाई दृष्टिगत गरी फागुलक्षित मेला स्थगन गरिएको छ । गलकोट नगरपालिका–७ मल्म र निसीखोला गाउँपालिका–४ मा आयोजित फागुपूर्णिमा मेला स्थगन गरिएको हो ।

गलकोटको घुम्टे युवा परिवारले ३५ वर्षदेखि फागुपर्वमा मेला गर्दै आएको थियो । शुक्रबारदेखि शुरु हुने भनिएको मेलामा विविध कला, खेलकूद, कृषि प्रदर्शनीलगायतका कार्यक्रम तय गरिएको थियो ।

कोरोना भाइरसको सङ्क्रमण रोक्न आवश्यक सजगताका लागि वर्षौँ पुरानो मेला स्थगन गरिएको घुम्टे युवा परिवारका अध्यक्ष थम्मन थापाले बताए । “विश्वभर नै सन्त्रास फैलाइरहेको कोरोना भाइरसका कारण यो वर्ष मेला नगर्ने भयौँ”, थापाले भने ।

निसीखोलाको रङ्गीन युवा क्लबले पनि फागुपूर्णिमामा लाग्ने मेला स्थगन गरिएको जनाएको छ । नजिकिएको फागुपर्वलाई लक्षित गरी जिल्लामा आयोजित अन्य कार्यक्रमसमेत नहुने भएका छन् । जिल्ला प्रशासन कार्यालयले पनि फागुमा भीडभाड नगर्न, रङ÷पानी नछ्याप्न, सांस्कृतिक÷साङ्गीतिक उत्सव नगर्न आग्रह गरेको छ ।

मेलासँगै विभिन्न निकाय, सङ्घसंस्था र राजनीतिक दलले सार्वजनिक सभा, समारोह स्थगन गरेका छन् । शुक्रबारदेखि हुने भनिएको जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता पनि रोकिएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन बागलुङले ‘एक स्थानीय तहः एक साङ्गठनिक कार्यक्रम’ स्थगन गरेको छ । शनिबार र आइतबारलाई तोकिएको नेपाल शिक्षक सङ्घ बागलुङको १९औँ जिल्ला प्रतिनिधिसभा पनि स्थगन भएको छ । सदरमुकामस्थित आदर्श सञ्चार सहकारी संस्थाले पनि शुक्रबार ढोरपाटनमा मनाउने तयारी गरेको वार्षिकोत्सव समारोहलाई स्थगन गरिएको जनाएको छ । राजनीतिक दलले पनि पार्टी सङ्गठनका भेला, सभा, सम्मेलन रद्द गरेका छन् ।

कोरोना भाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई दृष्टिगत गरी धवलागिरि अञ्चल अस्पताल बागलुङमा ‘आइसेलन वार्ड’ पनि खडा गरिएको छ । दुई ‘बेड’ भएको ‘वार्ड’लाई विस्तार गर्न सकिने अस्पतालले जनाएको छ । शङ्कास्पद बिरामीलाई सोही ‘वार्ड’मा राखेर उपचार गरिनेछ ।

जिल्लाका स्थानीय तहमा कोरोना भाइरससम्बन्धी सचेतना अभियान सञ्चालनको तयारी अघि बढाइएको छ । सङ्क्रमण रोकथाम एवं सजगताका लागि यसै हप्ता १० वटै स्थानीय तहका प्रमुखको भेला बोलाएर अभिमुखीकरण गरिने स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ ।

चीनको उहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण ८५ देशमा देखिएको छ । अहिलेसम्म भाइरसका कारण तीन हजारभन्दा बढीले ज्यान गुमाएका छन् । झण्डै एक लाख जना भाइरसबाट सङ्क्रमित छन् ।