काठमाडौँ । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले करिब १० महिनासम्म नेपालको माग धान्न सक्ने गरी नुन लगायतका अत्यावश्यकिय वस्तुको भण्डारण गरेको जनाएको छ । बजारमा नुन, चिनीलगायत दैनिक उपभोग्य वस्तुको अभाव भए जस्तो गरि कालोबजारी हुन थालेपछि कर्पोरेशनले प्रेस विज्ञप्ती जारी गर्दै आम उपभोक्तालाई निश्चिन्त रहन आग्रह गरेको हो । कर्पोरेशनले जारी गरेको विज्ञप्तीमा बजारमा अत्यावश्यकिय वस्तुको अभाव नभएको जनाईएको छ । कर्पोरेशनका सिईओ उर्मिला श्रेष्ठले करिब १० महिनालाई पुग्ने नुन मौज्दात रहेको जानकारी दिईन् ।
कर्पोरेशनसँग एक लाख ५८ हजार ५०० मेट्रिक टन नुन मौज्दात छ । ‘नेपालको १० महिनाको माग धान्ने नुन कर्पोरेशनसँग मौज्दात छ’, उनले भनिन , ‘नुनको कुनै अभाव छैन ।’ अहिले नेपाली बजारमा मासिक १६ हजार मेट्रिक टन नुन खपत हुँदै आएको छ । नुनको आयातमा कुनै व्यवधान नभएको पनि सिईओ श्रेष्ठले जानकारी दिएकी छिन्।
यसैगरी ट्रेडिङले चिनीको पनि पर्याप्त मौज्दात रहेको जानकारी दिएका छन् । हाल दुई हजार ५०० मेट्रिक टन चिनी गोदाममा रहेको छ भने सात हजार ५०० मेट्रिक टन चिनी आयातका क्रममा स्थलमार्गमा रहेको बताएको छ । कर्पोरेशन लगायतसँग करिब पाँच महिनालाई पुग्ने चिनी मौज्दात रहेको जनाउदै चिनीको हाहाकार छ वा हुन्छ भनेर चिन्तित हुनुपर्ने अवस्था नरहेको कुरा स्पस्ट पार्दै उनले अनावश्यक भण्डारण नगर्न पनि उपभोक्तालाई आग्रह गरे ।कर्पोरेशनले नून, चिनी, एल पी ग्यास, चामल, तेल, आटा, मैदा, दाल लगायतका उपभोग्य वस्तुको बिक्री वितरण गर्दै आएको छ ।





