समाचार

काठमाडौंमा एक किशोरीको भयो सामुहिक बलात्कार, ३ जना पक्राउ

काठमाडौं । मुलुककै केन्द्रिय राजधानि काठमाडौं मै तिन जनाको एक समुहले किशोरीमाथि बलात्कार गरेको छ । बलात्कारमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका तीनैजनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरि नगरपालिका–१५, तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएकी छन् । घटनालगत्तै प्रहरीले त्यसमा संलग्न दुई किशोरसहित ३ जनालाई नियन्त्रणमा लिएको छ ।

तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् । महानगरीय प्रहरी वृत्त थानकोटका प्रमुख डीएसपी घनश्याम श्रेष्ठले किशोरी बलात्कारमा संलग्न ३ जनालाई तत्काल नियन्त्रणमा लिइएको जानकारी दिए ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।