समाचार

महाकालीमा पौडी खेलेर आएका क्वारेन्टाइनमा

अमरगढी । भारतको पिथौरागढबाट घर फर्किएका आलिताल गाउँपालिका–३ कुलेडीका तीन जनालाई क्वारेन्टाइनमा राखिएको छ । उनीहरूलाई आलिताल गाउँपालिकाले आफैँले निर्माण गरेको क्वारेन्टाइनमा राखेको हो । भारतको पिथौरागढमा ज्याला मजदुरी गर्दै आइरहेका आलिताल गाउँपालिका–३ कुलेडीका किरण डडाल, गोपाल डडाल र प्रकाश डडाललाई क्वारेन्टाइनमा राखिएको हो ।

विश्वभर कोरोनो भाइरसको महामारी फैलिँदै गएपछि कामकाज प्रभावित हुँदा ठेकेदारले उनीहरूलाई कामबाट निकालेको थियो । ठेकेदारले कामबाट निकालेर दुई हजार गाडी भाडा दिएर पठाएकामा तीन दिन लगाएर नेपालको सिमानासम्म आइपुगेको र नेपालमा भएको लकडाउनका कारण महाकाली नदीमा पौडी खेलेर नेपाल प्रवेश गरेको उनीहरूले बताए ।

आलिताल गाउँपालिकाले १४ दिनको क्वारेन्टाइनमा राखेको आलिताल गाउँपालिका अध्यक्ष बलबहादुर गुरुङ जानकारी दिएका छन् । उनीहरूको स्वास्थ्य स्थिति भने सामान्य रहेको आलिताल स्वास्थ्य शाखा प्रमुख धनबहादुर क्षेत्रीले जानकारी दिए ।

ब्लडबैंकमा रगत अभाव

डडेल्धुरा रेडक्रस शाखाले सञ्चालन गरेको ब्लडबैंकमा रगत अभाव भएको छ । हालसम्म करिब आठ पिन्ट रगत मात्र मौज्दात रहेको रेडक्रस सोसाइटी डडेल्धुराका ब्लडबैंक इन्चार्ज गणेश ऐरले जानकारी दिएका छन् । पहिले सङ्कलित रगत सकिने अवस्थामा रहेको र अहिले रक्तदान हुन छाडेपछि रगत अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा डडेल्धुराका मन्त्री डम्बर भण्डारीले बताए ।

गाउँपालिकाको १० प्रतिशत छुट

डडेल्धुराको अजयमेरु गाउँपालिकाले बजार मूल्यको १० प्रतिशत छुटमा घरमै दैनिक उपभोग्य सामग्री उपलब्ध गराउने निर्णय गरेको छ । गाउँपालिका सदरमुकाम भद्रपुरमा बिहीबार बसेको कार्यपालिकाको बैठकले उक्त निर्णय गरेको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिएका छन् । गाउँपालिकाका सबै बस्तीमा प्रत्येक घरधुरीका लागि दैनिक उपभोग्य सामग्री बजार मूल्यमा १० प्रतिशत छुट र ढुवानी छुटसहित उपलब्ध गराउने अध्यक्ष भट्टले बताए ।