पर्यटन/संस्कृति

पर्यटनमन्त्री भट्टराईले लकडाउनका कारण पर्यटन क्षेत्रको असरबारे गरे गम्भीर छलफल

काठमाडौं । कोभिड–१९ को विश्वव्यापी महामारी फैलिएसँगै नेपालमा पनि यसको प्रभाव परेको छ । कोभिडको प्रभावले विश्व अर्थतन्त्रनै धराशयी बनिरहेको अवस्थामा नेपालको समग्र अर्थतन्त्रलाई असर पुगेको छ । यसमा पनि सबैभन्दा बढी नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असर पुगेको छ ।

सरोकारवाला व्यवसायीले पर्यटन क्षेत्रमा भएको असरबारे विभिन्न धारणा ल्याइरहेका छन् । कोभिडको प्रभावले नेपालको पर्यटन क्षेत्रमा के कस्तो असर प¥यो र कति सङ्ख्यामा रोजगारी गुम्यो भनेर आधिकारिक तथ्याङ्क सार्वजनिक गर्न सरकारले अध्ययन थालेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईको निर्देशन बमोजिम नेपाल पर्यटन बोर्डले पर्यटन क्षेत्रको विवरण लिने काम शुरु गरेको छ । यो कामका लागि मन्त्रालयका सहसचिव घनश्याम उपाध्याय, नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल र बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) को समितिले पर्यटनसम्बन्धी तथ्याङ्क सङ्कलन गरिरहेको हो ।

उक्त प्रयोजनका निम्ति बोर्डले आज एक सूचना जारी गर्दै पर्यटकीय तथ्याङ्क सङ्कलनमा सहयोग गरिदिन पर्यटन व्यवसायी तथा सम्बद्ध निकायसँग आग्रह गरेको छ । अनलाइन सर्भेका लागि एयरलाइन्स, होटल, पर्यटकीय सवारीसाधन, जलयात्रा, पदयात्रा, पर्वतारोहण तथा ट्राभल एन्ड टूरलगायतको छुट्टा छुट्टै विवरणका लागि फारम भर्नुपर्ने हुन्छ । बोर्डका सिइओ डा धनन्जय रेग्मीले कोभिडका कारण पर्यटन क्षेत्रमा परेको असरबारे अनलाइन सर्भे शुरु गरिएको जानकारी दिए । उनले यो अभियानमा आवश्यक सहयोग गरिदिन पनि व्यवसायी समक्ष आग्रह गरे । “कोभिडले पर्यटन क्षेत्रमा के कति असर पुग्यो । यो क्षेत्रमा कति सङ्ख्यामा बेरोजगार भए र कतिले रोजगार पाएका छन् यसको वास्तविक अवस्था पत्ता लगाउन अनलाइन सर्भे थालिएको हो”, सिइओ रेग्मीले भने । पर्यटन क्षेत्रको अध्ययन गरी पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले अर्थमन्त्रालयसँग आवश्यक पहल गरिने बोर्डले जनाएको छ ।

पर्यटन क्षेत्रमा कोभिडको प्रभावलाई विस्तृत अध्ययन गरी पर्यटन क्षेत्रबाट पलायन भएकालाई कस्तो किसिमको रोजगारी दिन सकिन्छ अध्ययनका आधारमा निर्णय लिइने बताइएको छ । सम्भव भएसम्म प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत समेटिने र बाँकीलाई कुन खाले रोजगारी दिइने भन्ने यकिन गरिने सिइओ रेग्मीको भनाइ छ । उनले पर्यटन क्षेत्रसँग कृषि, पशुपालन, फलफूल, पुष्पव्यवसायलगायत क्षेत्रमा बहुआयामिक असर पर्ने भएकाले विशेष ध्यान दिनुपर्ने अवस्था आएको उल्लेख गरे । पर्यटन क्षेत्रको अध्ययन गरी पर्यटन मन्त्रालयलाई प्रतिवेदन बुझाउने र उक्त प्रतिवेदनका आधारमा मन्त्रालयले अर्थमन्त्रालयसँग आवश्यक पहल गरिने बोर्डले जनाएको छ ।

आबद्ध श्रमिकको सुरक्षामा ध्यान दिन आग्रह

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घसंस्थाका प्रमुखसँग ‘भिडियो कन्फरेन्स’ गरी आबद्ध श्रमिकको सुरक्षामा ध्यान दिन आग्रह गरेका छन् ।

आज सिंहदरबारमा भएको एक घण्टा १० मिनेटको ‘भिडियो कन्फरेन्स’मा पर्यटन क्षेत्रसँग सम्बद्ध सङ्घसंस्थाका प्रमुखले आआफ्नो क्षेत्रले भोगिरहेको समस्या, आगामी दिनमा चाल्नुपर्ने कदम र सरकारसँगको अपेक्षाको विषयमा कुरा राख्नुभएको पर्यटनमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

मन्त्री भट्टराईले कोभिड–१९ को विश्वव्यापी महामारीबाट पर्यटन क्षेत्रमा जारी असर, पर्यटन क्षेत्रका श्रमिक तथा कर्मचारीको सबै खालका सुरक्षा र आगामी कार्ययोजनाबारेमा छलफल गरेका हुन् ।

छलफलमा होटल एशोसिएशन अफ नेपाल (हान) का अध्यक्ष सिर्जना राणा, ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) का अध्यक्षमा खुमबहादुर सुवेदी, नेपाल पर्वतारोहण सङ्घ (एनएमए)का अध्यक्ष सन्तवीर लामा, प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टरका अध्यक्ष विभूतिचन्द ठाकुर र नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट ९नाट्टा० का अध्यक्ष अच्युत गुरागाईं सहभागी थिए ।

छलफलमा मन्त्री भट्टराईले पर्यटन क्षेत्रसँग सम्बद्ध श्रमिक तथा कर्मचारीको दैनिक जीवनयापनको बिषयमा विशेष ध्यान दिन आग्रह गर्दै कुनै पनि श्रमिकलाई भोकै रहन नदिन आआफ्नो संयन्त्र र सूचनालाई प्रभावकारी बनाउन अनुरोध गरे । मन्त्री भट्टराईले देशको जुनसुकै भू–भागमा रहेका श्रमिक तथा मजदूर भोकै बस्ने अवस्था रहन नहुने तथा कहीँकतै समस्या भएको भए आफूलाई खबर गर्न आग्रह गर्दै सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर तत्कालै समस्या समधान गरिने उल्लेख गरे ।

लामो समय लकडाउनको अवस्था जाने अवस्थामा श्रमिकको दैनिक जीवनयापनका लागि फरक विकल्प पनि सोच्नुपर्ने उनको भनाइ थियो । पर्यटनमन्त्रीले भने, “यदि मुलुक लामो समय लकडाउनको अवस्थामा गयो भने त्यो अवस्थामा श्रमिकको सुरक्षा कसरी गर्ने ? त्यो पनि हामी सबैले छलफल गरेर योजना तयार गरौँ । श्रमिकलाई महामारीले असर नगर्ने गरी कुनै वैकल्पिक काममा परिचालन गर्न सकिन्छ ।”

मन्त्री भट्टराईले श्रमिकका लागि आवश्यक कोष बनाउनका निम्ती तयारी थाल्न पनि नेपाल पर्यटन बोर्डलाई निर्देशन दिएका छन् । मन्त्री भट्टराईले पर्यटन क्षेत्रमा परेको असरका विषयमा पर्यटन बोर्डको समन्वयमा तथ्याङ्क सङ्कलन भइरहेको जानकारी दिँदै त्यसमा प्रभावकारीरुपमा सामेल भएर पर्यटन क्षेत्रमा परेको असरको सही तथ्याङ्क निकाल्नमा सहयोग गर्न आग्रहसमेत गरे ।

बोर्डको कार्यकारी अधिकृत (सिइओ) डा धनञ्जय रेग्मीले पर्यटन बोर्डको नेतृत्वमा भइरहेको तथ्याङ्क सङ्कलनमा सबै सामेल हुन आग्रह गरे । डा रेग्मीले पर्यटन क्षेत्रमा परेको असरका विषयमा सही तथ्याङ्क नभएसम्म आगामी कार्ययोजना बनाउन समस्या हुने बताउँदै बोर्डले जारी राखेको सर्भेमा सामेल हुन पनि आग्रह गरे ।

सङ्घसंस्थाका प्रमुखले पर्यटनमन्त्री भट्टराईको नेतृत्व र पर्यटन बोर्डको अगुवाइमा विदेशी पर्यटकको उद्धारमा भएको कामको प्रशंसासमेत गर्दै यसले विश्वमा नेपालका बारेमा राम्रो सन्देश गएको उनीहरुको भनाइ थियो ।