नविन विक/कोभिड–१९ (कोरोना) ले बिश्वब्यापी रुपमा आतंक मच्चाउदै धेरै जनधनको क्षति पुर्याईसकेको छ, अहिले सम्म यसको कुनै ठोस औषधी उपचार पत्ता लागेको छैन, यस्को उपचार भनेकै एक आपसमा दुरी कायम गर्नु र अरुसंग हेलमेल नगरीकन यसको चेन लाई ब्रेक गर्नु हो, त्यसैले सरकारले पछिल्लो ३ हप्ता देखी लकडाउन गरेर सबैलाई घरभित्रै बसी सामाजिक दुरी कायम गरेर कोरोना बाट बच्न र फैलनबाट रोक्न आव्हान गरेको छ, यो राम्रो कदम हो तर कुनै पुर्ब तयारी र जानकारी बिना चट्याङले हाने झै एक्कासी लकडाउनले हान्दा धेरै जनताहरु मारमा परेका छन्।
यो लकडाउन लम्बिएर कहिले सम्म पुग्ने हो त्यो थाहा छैन, बिभिन्न अभाबले पिल्सिएर मानिसहरु मर्नु भन्दा बौलाउनु ठीक भन्ने उखानलाई चरितार्थमा उतारदै काठमाडौ बाट हिडेरै पश्चिम महाकाली र पुर्ब मेची सम्म पैदल नै राजमार्गमा ताँती लाएर भोकै प्यासै हिडिरहेका छन, कोरोनाले भन्दा पहिला मानिसलाई भोक प्यास र अभावले नै लैजाला जस्तो भैसकेको छ।
अफगानीस्तानबाट लास र चीनको उहानबाट सयौंको श्वास लयाएर वाहवाही कमाउने सरकारले आफ्नै देश भित्र केवल ३०–४० वटा बसको ब्यबस्था गरेर मारमा परेका जनतालाई काठमाडौंबाट आफ्नो घर पुर्याउन सक्दैन? बस पाईएन् ? सेनाको तेत्रो ट्रक बस, पुलिसको तेत्रो ट्रक बस, बोर्डीङ स्कुलको तेत्रो बसहरु कहिले प्रयोग गर्छौ ?, बस चढनु अघि सबैको तापक्रम, स्वास्थ्य चेक गरेर आईडीको फोटो कपी सहितको डाटा लिएर सबैलाई आआफ्नो जिल्ला पुर्याउन सकिन्छ र जिल्ला बाट निजको गाबिसरटोल का जनप्रतिनिधि वा टोलका बासीन्दालाई जिम्मा लाएर उसलाई निगरानीमा राख्न सकिन्छ, काठमाडौबाट बसमा चढेपछि त्यो मान्छे घर पुगेर कसैको जिम्मा नलगाईन्जेल बिचमा कतै जान नपाउने ब्यबस्था गर्न सकिन्छ, यति गर्न नसकेर किन यत्ती बिजोग देखाएको छ यो सरकारले ?
अहिले हाम्रो देशमा खासै महामारी फैली सकेको छैन, सरदर हिसाब गर्दा जिल्लाको ! जना पनि संक्रमित छैन, यस्तो बेलामा आत्तिएर भन्दा पनि संयमित भएर राम्रो ब्यबस्था पन गर्न तिर लागे सबैलाई सहज हुन्छ, यति पनि ब्यबस्थापन गर्न नसक्नेले भोली यदि यसले बिकराल रुप लियो भने कसरी म्यानेज गर्ला ? यहा रोगले भन्दा पहिला भोकले लाला जस्तो भैसक्यो, मान्छे त्यसै पनि हिडेर त गईनै रहेका छन्, बरु यसो गाडीको ब्यबस्था गरिदिए तिनहरुको कति आशिष लाग्थ्यो, कि हिडेर जादा कोरोना नसर्ने गाडीमा लैजादा कोरोना सर्ने हुन्छ ??
( विक चीनबाट एनआरएनका केन्दीय सदस्य हुन्, स्वास्थय सामाग्री खरिदमा भएको भ्रष्टाचारको कुरा बाहिर ल्याउने अभियान्ता समेत हुन् । )