डा. महावीर पुन/एक जना भाइले दक्षिण कोरियाबाट बिहानै फोन गरेर राष्ट्रिय आविष्कार केन्द्रको खाता नम्बर मागे र कोरोनाको लागी २ लाख रुपैंया पठाई दिन्छु भने। मैले ‘तिमीले दुख गरेर कमाएको पैसा दान गर्ने नै हो भने अलिकति पैसा दान गर, त्यति धेरै पैसा नपठाउ, बरु तिम्रो परीवारलाई पठाई देउ’ भनेर भने। उनले मरो परिवार छैन भने। अनि मैले ‘तिम्रो बाबा आमा लाई पठाई देउ न त’ भनेर सम्झाएँ। उनले यसो भने, ‘बाबा ता मैले देखे कै होइन, आमाले पालेकी हुन् र उनी पनि स्वर्गमा छिन्। मेरो आमा भने कै नेपाल आमा हुन् र आमालाई दुख परेको बेलामा यति सानै रकम भए पनि दान गर्न चाहन्छु।’
मैले ति भाईलाई बिभिन्न तरिकाले सम्झाई बुझाई गर्दै यसो भनें, ‘एक लाख मात्र दान गर र त्यो भन्दा बढी नगर, बरु सके जति पैसा बचाउ र देशमा नै आएर केहि गर ।’ धेरै नै सम्झाए पछि उनले एक लाख रुपैंया मात्र दान गर्न माने।
ति भाईले जिन्दगीमा धेरै दुख पाएको र हण्डर खाएको अनुमान गर्न सकिन्छ। त्यसै कारणले नै म एकछिन भाबुक बनेको हो किन भने मैले पनि जिन्दगीमा मैले धेरै नै हण्डर र ठक्करहरु पाएको छु र जस्तो सुकै परिस्थितिमा पनि सितिमिति म भाबुक र बिचलित हुँदै हुँदैन। कसैको पनि हण्डर र ठक्कर नखाएको जिन्दगी कुनै जिन्दगी नै होइन भन्ने मान्यता राख्छु मैले र यो एकदमै सत्य कुरा हो। कसैले फेरी व्यंग र हाँसो नगर्नु होला। धन्यबाद।





