अन्तर्राष्ट्रिय

रुसका प्रधानमन्त्रीलाई लाग्यो कोरोनाः अस्पताल भर्ना

१९ बैशाख काठमाडौं । चीनको उहन सहरबाट फैलिएको कोरोना माहामारीले झनै उग्र रुप लिँदै गएको छ । पछिल्लो समय कोरोनाको कारण विभिन्न वरिष्ठ व्यक्तिहरु संक्रमीत हुनुका साथै कयौंको मृत्यु भईसकेको छ ।

यस्रक्रममा रुपका प्रधानमन्त्रीमा पनि कोरोना संक्रमण देखिएको छ । रुसका प्रधानमन्त्री मिखाइल मिशुस्तिनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ । कोरोना भाइरसको संक्रमणपछि बिरामी परेका उनलाई अस्पताल भर्ना गरिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् ।

रुसमा संक्रमितको संख्या एक लाख भन्दा बढी पुगेकै दिन बिहीबार उनलाई कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको हो । रुसमा बिहीबार एकै दिन सात हजार ९९ जना संक्रमण पुष्टि भएको हो, त्यसमध्ये एक प्रधानमन्त्री मिखाइल पनि हुन् । गएको जनवरीमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्न आएका मिखाइल रुसमा कोरोना भाइरसको महामारी नियन्त्रण अभियानको नेतृत्वमा रहेर काम गर्दै आएका छन् ।

रुसी टेलिभिजनमा उनले आफूलाई संक्रमण भएको जानकारी राष्ट्रपति भ्लादिमिर पुटिनलाई बताउँदै गरेको देखाइएको छ । प्रधानमन्त्री मिखाइलले भिडियो कलमा राष्ट्रपति पुटिनलाई भनेका छन्, ‘मैले भर्खरै थाहा पाएँ कि मलाई कोरोना भाइरसको संक्रमण भएको रहेछ ।’उनी अस्पतालमा रहँदा प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एन्ड्री बेलोउसोभले सम्हाल्ने तय भएको छ ।