समाचार

लकडाउनले समस्यामा परेका मजदुरलाई राहत दिन देउवाको सरकारलाई पुनः आग्रह

१९ वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस र मजदुर एकअर्काका सहयोगी भएको बताएका छन् ।  सभापती देउवाले लकडाउनका कारण समस्यामा परेका मजदुरहरुलाई अविलम्ब राहत व्यवस्था गर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आज (शुक्रबार) फेसबुक मार्फत शुभकामना सन्देश जारी गर्दै देउवाले भनेका छन्, ‘वि.संं. २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर जननायक बी.पी. कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।’

कोरोना भाइरस संक्रमणको जोखिमका कारण नेपाल लकडाउनको अवस्थामा रहेकाले सम्पूर्ण नागरिकको जीवन सहज हुन नसकेको छैन भन्दै देउवाले यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको बताएका छन् ।

श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको भन्दै देउवाले उनीहरुलाई अविलम्व राहतको व्यवस्था गर्न सरकारसँग पुनः आग्रह गरेका छन् । उनले अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस अवसरमा सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुमा शुभकामना दिएका छन् ।

 

देउबाको स्टाटसः **श्रमिक दिवसकाको शुभ–कामना**
मे १ तारिख – श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन हो । यस ऐतिहासिक दिवसका अवसरमा म सम्पूर्ण श्रमिक दिदी–बहिनी तथा दाजु–भाइहरुमा हार्दिक शुभ–कामना व्यक्त गर्दछु ।

वि।संं। २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरुको पहिलो ऐतिहासिक आन्दोलन भएको थियो । सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर— जननायक बी।पी। कोइराला लगायत धेरै नेताहरुलाई पक्राउ गरेको थियो । नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन थियो । त्यसैले नेपाली कांग्रेस र मजदूरहरु सधैं एक अर्कामा आवद्ध भएर एक अर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ ।

अहिले पूरै विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वब्यापी रुपमै प्रताडित भएको छ । नेपाल पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेकोले सम्पूर्ण नागरिकको जीवन सहज हुन सकेको छैन । यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरुको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ । श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । लक डाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरुलाई अभिलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु ।

अन्त्यमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसको यस अवसरमा सम्पूर्ण श्रमिक दिदीबहिनी तथा दाजुभाइहरुमा पुनः हार्दिक शुभकामना प्रकट गर्दछु ।

जय नेपाल !