ब्रेकिङ न्युज

गणेश नेपाली आत्मदाह प्रकरण : घटनास्थलमा खटिएका महानगर प्रहरी निलम्बन हुने

२८ असार, काठमाडौं ।  राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु प्रकरणमा घटनास्थलमा खटिएका काठमाडौं महानगरपालिकाका प्रहरी कर्मचारीलाई निलम्बन गरिने भएको छ ।

पीडित परिवार र सरकारबीच भएको सहमतिअनुसार घटनाको छानबिन प्रतिवेदन नआएसम्म त्यस दिन अग्रभागमा खटिएका महानगर प्रहरी बलका कर्मचारीलाई निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले महानगरपालिकालाई पत्राचार गर्ने भएको हो ।

गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आफ्नो मोटरसाइकलमा ह्विललक लगाएको विषयमा विवाद भएपछि पेट्रोल छर्केर आत्मदाह प्रयास गरेका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा वीर अस्पतालमा निधन भएको थियो ।

घटनाको सत्यतथ्य छानबिन गर्न काठमाडौं उपत्यका प्रहरी कार्यालयका डीआईजी गोविन्द थपलियाको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

घटनामा संलग्न महानगर प्रहरी तथा प्रत्यक्षदर्शीसँग प्रहरीले सोधपुछ गरी विवरण लिइसकेको जनाएको छ । छानबिन समितिको प्रतिवेदनपछि थप प्रक्रिया अघि बढाइने बताइएको छ ।