२४ बैशाख काठमाडौं । बिहिबार बस्ने स्थायी कमिटी बैठकका एजेण्डालाई अन्तिम रुप दिन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आज फेरी बस्दै छ ।
पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले ल्याएका दुई अध्यादेश पछि पार्टी विभाजनको खतरा रहेको भन्दै २० जना स्थायी कमिटी सदस्यले पत्र लेखेर स्थायी कमिटी बैठकको माग गरेका थिए ।
भने सचिवालय बैठकमै प्रधानमन्त्रीको राजीनामा समेत मागिएको थियो । गत शनिबार बसेको सचिवालय बैठकले अध्यक्ष पुष्पकमल दाहाललाई स्थायी कमिटी बैठकका एजेण्डा तय गर्ने जिम्मा दिएको थियो । सोमबार र हिजो भएका छलफलमा बैठकका एजेण्डाबारे दुई अध्यक्षबीच सहमति नभएपछि दाहाल र अर्का नेता माधवकुमार नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुले छुट्टै भेलासमेत गरेका छन् ।
भेलाले भोली बस्ने स्थायी कमिटी बैठकमा एक ढिक्का भए प्रस्तुत हुने रणनीति बनाएको छ । आफूहरुले पत्र लेखेर बोलाएको बैठकमा सबै विषयमा खुलेर छलफल हुनुपर्ने अडानमा रहेको भेलामा सहभागी नेताहरुले बताएका छन् । असन्तुष्ट पक्षले सरकारले गरेका विवादित कामबारे उठेको मुद्दामा प्रधानमन्त्री ओलीमाथि कयौं प्रश्नको जवाफ खोज्ने रणनीति तय गरेको छ ।
अध्यक्ष दाहाल र नेता नेपाल पक्षका ती नेताले स्थायी कमिटी बैठक बोलाउन माग गर्दै यही वैशाख १० इमेलमार्फत अध्यक्ष ओलीलाई पत्राचार गरेका थिए ।





