पु.समाचार

भारतद्वारा स्वास्थ्य मन्त्रालयलाई ३० हजार थान किट हस्तान्तरण

४ जेठ, काठमाडौं । भारतले नेपाल सरकारलाई ३० हजार थान पिसिआर किट प्रदान गरेको छ । नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकाललाई ती किट आज स्वास्थ्य मन्त्रालयमा हस्तान्तरण गरे ।

त्यस अवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत क्वात्राले भारत सरकार र त्यहाँका जनताबाट उपहारस्वरुप उपलब्ध गराइएका किटले थोरै भए पनि नेपालका स्वास्थ्यकर्मीलाई पिसिआर परीक्षण गर्न सघाउने बताए । मन्त्री ढकालले जनस्वास्थ्यको विषम समस्याका बेला भारतले पिसिआर किट प्रदान गरेकामा कृतज्ञता व्यक्त गरे ।

कोभिड–१९ ले निम्त्याएको साझा चुनौतीको सामना गर्न यसअघि पनि भारतले २३ टन औषधि प्रदान गरेको थियो । सार्क सदस्य मुलुकका हैसियतले भारतका प्रधानमन्त्रीले गत चैतमा भिडियो कम्फ्रेन्समार्फत सदस्य राष्ट्रलाई महामारीविरुद्ध सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।