राजनीति

कांग्रेस महाधिवेशनमा विवाद कि सहमति ? नेतृत्वबीच चलिरहेको छ यस्तो कसरत

४ साउन, काठमाडौं । नेपाली कांग्रेसले आगामी १५ औँ महाधिवेशनलाई सहमति र एकताका साथ सम्पन्न गर्ने प्रयास थालेको छ। पार्टी उपसभापति विश्वप्रकाश शर्माले महाधिवेशनमा सबै सदस्यको सहभागिता सुनिश्चित गर्ने उद्देश्यले नेतृत्व तहमा निरन्तर संवाद भइरहेको बताएका छन्।

सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै शर्माले पार्टीको आन्तरिक जीवन, एकता र महाधिवेशन तयारीका विषयमा नेतृत्वबीच सकारात्मक छलफल भइरहेको जानकारी दिए।

उनका अनुसार सभापति गगनकुमार थापा, पार्टी नेतृत्व र अन्य सदस्यबीच सबैलाई सहज रूपमा सहभागी गराउने वातावरण बनाउन संवाद भइरहेको छ। उनले यी छलफलहरू सकारात्मक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे।

“१५ औँ महाधिवेशनमा सबैलाई सहभागी हुने वातावरण सहज बनाउने उद्देश्यले संवाद र छलफल भइरहेका छन्,” शर्माले भने।

उनले पार्टीभित्र देखिएका आन्तरिक विषयमा सञ्चारकर्मी र आम कार्यकर्ताको चासोलाई सम्बोधन गर्दै नेतृत्वबीच समझदारी कायम गर्ने प्रयास भइरहेको बताए।

कांग्रेसले महाधिवेशनलाई व्यवस्थित र एकताबद्ध रूपमा सम्पन्न गर्न आन्तरिक समन्वयलाई प्राथमिकता दिएको उपसभापति शर्माको भनाइ छ।