आर्थिक

९५ पत्रकारको प्रति ब्यक्ती एकलाखको कोरोना बीमा

४ जेठ, नुवाकोट । कोभिड–१९ को संक्रमणको जोखिममा काम गरिरहेका जिल्लाका ९५ पत्रकारको सामूहिक कोरोना बीमा गरिएको छ । नेपाल पत्रकार महासंघले विदुर नगरपालिका र रुडेक नेपालको आर्थिक सहयोगमा प्रतिपत्रकार एक लाखको कोरोना बीमा गराएको हो ।

पत्रकार महासंघ नुवाकोटमा सदस्य तथा जिल्लामा क्रियाशील पत्रकारको बीमा गराइएको महासंघका जिल्ला अध्यक्ष कपिलदेव खनालले बताए । अध्यक्ष खनालका अनुसार कोरोना बीमाका लागि नगरपालिकाले ७० र रुडेक नामक गैरसरकारी संस्थाले २५ जनाको बीमा शुल्क तिर्न आर्थिक सहयोग गरेको छ । कोरोना बीमाका लागि प्रतिव्यक्ति रु ६ सय तिरिएको छ ।

उक्त बीमानुसार कुनै पत्रकार कोरोना भाइरसबाट संक्रमित भएमा बीमा कम्पनी सिद्धार्थ इन्स्योरेन्सले  एक लाख सम्बन्धित पत्रकारलाई उपलब्ध गराउने महासंघले जनाएको छ ।

बीमा कार्यक्रम घोषणा कार्यक्रममा नगरपालिकाका प्रमुख सञ्जु पण्डितले जोखिमका बेलामा पत्रकार निरन्तर खटिरहनुपर्ने भएकाले सुरक्षाको प्रत्याभूती दिन सहकार्य गरिएको बताए । रुडेकका अध्यक्ष मीनकुमार केसीले संस्थागत रुपमा यसरी भएको बीमा कार्यक्रमले आफूलाई उत्साहित गराएकाले आर्थिक सहयोग गरिएको बताए ।