६ जेठ, खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा खानेपानीको समस्या भएको छ । दिक्तेलस्थित रत्नपार्कको किराँतचोकदेखि वेशक्याम्पसम्मको सडक ढलानको काम शुरु गरिएसँगै दिक्तेल बजारमा विस्तार गरिएको खानेपानीको पाइप मेशिनले चुँडाएपछि हप्ता दिनदेखि खानेपानीको समस्या आएको हो ।
मेशिन लगाएर सडक फराकिलो पार्ने क्रममा दिक्तेल बजारमा विस्तार गरिएको खानेपानीको पाइप विभिन्न ठाउँमा चुँडिएको छ । अव्यवस्थित तरिकाले सडक निर्माणको काम गरिँदा खानेपानीको पाइप टुक्रा टुक्रा भएको र सडक निर्माण कम्पनीले पाइप मर्मतमा चासो नदिँदा समस्या भएको उपभोक्ताको आरोप छ ।
मेशिनले चुँडाएको पाइप जडान नगर्दा दिक्तेल बजारवासी स्थानीय घिमिरे धारा, पात्ले धारा, मूल धारा तथा कुवाबाट जर्किन तथा ड्रममा बोकेर ल्याएको खानेपानी उपभोग गर्न बाध्य छन् । घरमा जडान गरिएको धारामा पानी नआएपछि सरकारले लागू गरेको बन्दाबन्दीको समयमा पनि स्थानीय बासिन्दा आसपासको धारा तथा कुवामा पुगेर ल्याएको पानी उपभोग गर्न बाध्य बनेका हुन् ।
मेशिनले चुँडाएको पुरानो खानेपानीको पाइप जडान गरेर पुनः सञ्चालनमा ल्याउने तयारी भइरहेको रम्बाखोला, माँझ खोला शहरी खानेपानी आयोजनाका सचिव नवराज जोशीले बताए । “मेशिनले खानेपानीको पाइप चुँडाएपछि दिक्तेल बजारमा विस्तार गरिएका सबै धारामा हप्ता दिनदेखि पानी आएको छैन”, उनले भने, “घर घरमा नभई एक टोलमा एक ठाउँ पु¥याउने गरी मर्मतको काम भइरहेको छ ।”
दिक्तेल बजारमा पुरानो योजनाबाट करिब ८०० वटा धारा जडान गरिएको छ । पन्ध्रवटा वडा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको केन्द्रसमेत रहेको दिक्तेल बजारमा कहिले धारामा पानी नै नआउने, आइहाले पनि फोहर तथा दूषित पानी आउनेलगायत समस्या वर्षौंदेखि रहेको उपभोक्ताको गुनासो छ ।
यतिमात्र नभई उपभोक्ता समितिका पदाधिकारीले आफ्ना नजिकका केही व्यक्तिका घरमा तीन चारवटासम्म धारा बाँडेको र उनीहरुका धारामा चौबीसै घण्टा पानी आउने गरेको एक उपभोक्ताले आरोप लगाएका छन् । नाम नभन्ने शर्तमा उनले भने, “मैले दुई वर्षअघि एउटा धाराका लागि निवेदन दिएको थिएँ, अहिलेसम्म उपभोक्ता समितिले दिएको छैन ।” उनले थपे, “त्यस्ता उपभोक्ता समितिका पदाधिकारीलाई तत्काल कारवाही गरेर समानुपातिक तवरले वितरण गरिनुपर्छ ।”
दिक्तेल बजारमा देखिएको खानेपानीको समस्या समाधान गर्न नगरपालिकाको तर्फबाट पहल भइरहेको नगरप्रमुख दीपनारायण रिजालले बताए । “दिक्तेल बजारमा लामो समयदेखि देखिएको खानेपानी समस्या समाधान गर्न नयाँ खानेपानी आयोजनाको काम शुरु गरिएको छ”, उनले भने, “निर्माणाधीन अवस्थामा रहेको खानेपानी आयोजना सञ्चालनमा आएपछि यसअघि झेल्दै आइएको सबै समस्या समाधान हुन्छ ।”
दिक्तेल बजार र बाम्राङका स्थानीयवासीलाई स्वच्छ, सफा र गुणस्तरीय खानेपानी वितरण गर्ने लक्ष्यका साथ निर्माण शुरु गरिएको खानेपानी आयोजनाको जिम्मा आशिष निर्माण कम्पनीले लिएको छ । रु २२ करोड ५५ लाख ५८ हजार लागतमा १८ महिनाभित्र सम्पन्न गर्ने गरी काम शुरु गरिएको आयोजनाको शिलान्यास गत चैत–२४ गते प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले गरेका थिए ।
नेपाल सरकारको ७०, काठमाडौँ महानगरपालिकाको नगर विकास कोषमार्फत २० र उपभोक्ताको पाँच प्रतिशत लगानीमा आयोजनाको काम शुरु गरिएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष धनकुमार जोशीले बताएका छन् । आयोजनामार्फत मुहान संरक्षण तथा नयाँ मुहान थप, ट्याङ्की निर्माण तथा घर घरमा नयाँ धारा विस्तार तथा धारामा मिटर जडानलगायत काम गरिने जनाइएको छ ।





