आर्थिक

लघुउद्यमलाई आयकर छुटको अवधि बढाउनु स्वागत योग्य: घरेलु महासङ्घ

१७ जेठ, काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियानमा लागेको वर्तमान सरकारले विशेष गरेर लघु, घरेलु तथा साना उद्योगमार्फत रोजगारी सिर्जना गर्दै मुलुकलाई आर्थिक समृद्धिको बाटोमा अघि बढाउन खोजेको जिकिर गर्दै बजेटको स्वागत गरेको छ ।

महासङ्घका कार्यवाहक अध्यक्ष उमेशप्रसाद सिंहले आज प्रेस विज्ञप्ति जारी सरकारले बिहीबार संसद्मा प्रस्तुत गरेको आर्थिक वर्ष २०७७/०७८ को बजेटले गरिब, विपन्न, शैक्षिक बेरोजगार र वैदेशिक रोजगारबाट अवरुद्ध भएका युवालाई सहकारी संस्थामार्फत कर्जा प्राप्त गरी घरेलु तथा साना उद्योग स्थापना गर्न प्रोत्साहन गर्ने नीति लिएकामा महासङ्घले सरकारप्रति आभार प्रकटसमेत प्रकट गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, “कोभिड– १९ को महामारीले विश्वलाई नै विक्षिप्त बनाएको वर्तमान अवस्थामा अर्थमन्त्री डा युवराज खतिवडाले आव २०७७/०७८ का लागि प्रस्तुत गर्नुभएको बजेट स्वागतयोग्य छ, मुलुकको आर्थिक संवाहकका रुपमा रहेका लघु, घरेलु तथा साना उद्योगको विकास र प्रवद्र्धनका लागि महासङ्घले गर्दै आएको पहललाई यस बजेटले समेट्न खोजेको छ ।”

कोभिड– १९ का कारण हाल सञ्चालनमा अवरुद्ध भएका उद्योगलाई स्वास्थ्य सुरक्षा कायम गरी सञ्चालनमा ल्याउने र स्वदेशी कच्चापदार्थमा आधारित, उच्च मूल्य अभिवृद्धि गर्ने, औद्योगिक ग्राम तथा औद्योगिक क्षेत्रमा स्थापना हुने उद्योगलाई कर प्रणालीमार्फत थप प्रोत्साहन गर्ने नीति बजेटको सकारात्मक पक्ष भएको महासङ्घको भनाइ छ । लघुउद्यमलाई आयकर छुटको अवधि दुई वर्ष थप गरी सात वर्ष र महिला उद्यमीद्वारा सञ्चालित लघुउद्यमीलाई तीन वर्ष थप गरी १० वर्ष पु¥याउनु स्वागतयोग्य भएको महासङ्घको ठहर छ ।

कृषि, पर्यटन तथा वनलगायतका क्षेत्रसँग अग्र र पृष्ठ सम्बन्ध स्थापित हुने साना तथा मझौला उद्योगको विकास र विस्तार गर्न उद्यमशीलता, सीप र प्रविधिको उपयोगमा जोड दिने, स्वदेशी वस्तुको उपभोग गर्दै आन्तरिक उत्पादनलाई प्रोत्साहन गर्न रेशाजन्य वस्तुबाट धागो उत्पादन र स्वदेशी कपडा उद्योगलाई प्रोत्साहन गर्ने उल्लेख बजेटको राम्रो पाटो भएको महासङ्घले जनाएको छ ।