बाग्मती

सामाजिक दूरी कायम गर्दैै उपत्यकामा सफाइ अभियान

१७ जेठ, काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीमा वाग्मती र यसका सहायक नदीमा सफाइ अभियान भने जारी छ । वाग्मती सफाइ महाअभियानको ३६८औँ हप्तामा पशुपति क्षेत्रको नदी किनारमा अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति सञ्चालक सदस्य माला खरेलको नेतृत्वमा सफाइ गरियो ।

शङ्खमूल क्षेत्रको नदी किनार, हनुमान ओमशान्ति पार्क, संयुक्त राष्ट्रसङ्घीय उद्यान क्षेत्रमा सफाइ गरी कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी डा लक्ष्मी पौडेलले बताए । नदी किनारमा फूलसमेत रोपिएको थियो । सफाइमा अभियानकर्मी रामप्रसाद पन्थी, टोल सुधार समितिका पदाधिकारीलगायत उपस्थित भई बन्दाबन्दीको अनुशासन पालना गर्दै सफाइ गरिएको थियो ।

वाग्मतीको तिलगङ्गा सफाइको २५७औँ हप्ता, मनोहरा नदी सफाइको १६७औँ हप्ताको सफाइ कार्यक्रम पनि सामाजिक दूरी कायम गर्दै निरन्तरता दिइएको अभियानकर्मी किशोरसिंह शाहीले बताए । ललितपुरस्थित गोदावरी खोला सफाइको ६५औँ हप्तामा घर, टोल, पानी कुलो एवं खोला क्षेत्रमा सामाजिक दूरी कायम गरी सफाइ गरिएको संयोजक बेबी राजभण्डारीले राससलाई जानकारी दिए । नदी किनारभन्दा टाढा घर भएका अभियानकर्मीले भने घर, टोल अघि सफाइ गरेको जनाइएको छ ।