२५ जेठ, विराटनगर । प्रदेश नं १ को प्रदेशसभामा प्रदेश सरकारका तर्फबाट प्रदेशसभामा प्रस्तुत नीति तथा कार्यक्रममाथि आजदेखि सभासदहरुले बोल्ने क्रम आजदेखि शुरु भयो । नीति तथा कार्यक्रममाथिको छलफलमा सत्ता पक्षले सभासदहरुले सरकारले ल्याएका कार्यक्रमहरुको पक्षमा र प्रतिपक्षका सभासदहरुले विपक्षमा आफ्ना धारणा राखे ।
प्रदेशसभा सदस्य उपेन्द्रप्रसाद घिमिरेले नीति तथा कार्यक्रम समाजवादउन्मुख भए पनि मजदूरको पक्षमा नीति तथा कार्यक्रम उत्साहजनक नरहेको टिप्पणी गरे । सदस्य उमीता विकले नीति तथा कार्यक्रम राम्रो भए पनि दलित महिलालाई सशक्तीकरण गर्न विधेयकमा संशोधन गर्न कार्यक्रममा समावेश भएकाले सरकारलाई धन्यवाद दिए ।
सदस्य प्रतापप्रकाश हाङ्गामले मुलुकको अर्थतन्त्रलाई सबल र सक्षम बनाउन स्वदेशी उत्पादनका वस्तुहरु उपभोग गर्न अभियान चलाउनुपर्नेमा जोड दिए । सदस्य शेखरचन्द्र थापाले वर्तमान परिस्थितिलाई सम्बोधन गर्न नीति तथा कार्यक्रम असफल रहेको बताए । सर्वध्वज सांवा लिम्बूले नीति तथा कार्यक्रम राम्रो छ र यसबाट आम नागरिकलाई लाभान्वित पार्न कार्यान्वयन पक्ष पनि बलियो हुनुपर्ने धारणा राखे ।
सदस्य सावित्री जोशीले सरकारले कृषकलाई वितरण गर्न ल्याएको राहत प्याकेज मजदूरलाई पनि हुनुपर्ने विचार राखे । सदस्य सूयर्माराज राईले परम्परागत सोच र अभ्यासले उत्पादन वृद्धि नगरी विवतरण गर्न नसकिने तर्क राखे । सदस्य हिमाल कार्कीले वर्तमान अवस्थालाई सम्बोधन गर्न वस्तुनिष्ट आधार तयार नभएकाले सरकारले खासै प्रगति हासिल गर्न नसक्ने चर्चा गरे ।
बैठक प्रारम्भ हुनासाथ प्रदेशसभा नियमावली, २०७४ को नियम ३६ .१० बमोजिम मुख्यमन्त्री शेरधन राईले प्रदेश प्रमुखले आर्थिक वर्ष २०७७/७८ का लागि सदनमा सम्बोधन गर्नुभएको वार्षिक नीति तथा कार्यक्रम सदनमा टेबल गरिएको थियो । प्रदेश नं १ को प्रदेशसभा नियमावली, २०७४ को नियम ३६ ९२० बमोजिम सभामुख प्रदीपकुमार भण्डारीबाट गरिएको सम्बोधनका लागि प्रस्ताव गरेको धन्यवाद ज्ञापन प्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको थियो ।
यसअघि आजको बैठकको शून्य समयमा सभासदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गरे । बैठकमा प्रदेशसभा सदस्यहरु अम्बिका थापा, कुलप्रसाद सांवा लिम्बू, केदार कार्की, खिनु लाम्बा लिम्बू र लीला सुब्बाले बोलेका थिए । प्रदेशसभाको अर्को बैठक भोलि बिहान ११ः३० मा बस्ने सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।





