११ असार काठमाडौं । सरकारले साना होटलाई वेपास्ता गरेको भन्दै होटल व्यवसायी महासंघले आन्दोलन गर्ने सरकारलाई चेतावनी दिएको छ । आज काठमाडौंमा पत्रकार सममेलन गर्दै महासंघले १४ बुँदे माग राख्दै तत्काल माग पुरा नभए आन्दोलन गर्ने चेतावनी दिएको हो ।
महासंघका अध्यक्ष हिराध्वज शाहले सरकारले ठुला तारे होटल र साना होटेलबीच बिभेद गरेको आरोप लगाउँदै आफ्ना माग सम्बोधन नभए कडा रुपमा प्रस्तुत हुने चेतावनी दिएका छन् ।
होटल व्यवसायी महासंघले लकडाउन खुलेपछि पनि तत्काल होटल सञ्चालन नहुने भएकाले बिजुली पानीको महसुलमा एक वर्षसम्म छुट दिनुपर्ने, टेलिफोन, इन्टरनेटमा विशेष सहुलियत दिनुपर्ने, एकवर्षको व्यवसाय कर तथा राजस्वमा छुट गर्नुपर्ने, बैंकको ऋण र ब्याज भुक्तानी गर्ने अवधि २ वर्ष थप्नुपर्ने, सहुलियत ब्याजदरमा कर्जा उपलब्ध गराउनुपर्ने, होटलहरुलाई क्वारेन्टाइनको रुपमा प्रयोग गराउन र सुरक्षा सावधानी अपनाएर होटल खोल्ने व्यवस्था गर्न माग गरेको छ ।
यस्तै अध्यक्ष शाहले विदेशबाट आउने नागरिकको इच्छाअनुसार सस्तो दरका होटलमा क्वारेन्टाइन बस्न पाउने गरी व्यवस्थापन गर्न माग गरेका छन् । व्यवसायीहरुले तीन वटै तहका सरकारले पर्यटन व्यवसायसँग सम्बन्धित राजस्व म्बन्धी नीति नियम तर्जुमा गर्दा महासंघ मातहतका निकायहरुको प्रतिनिधित्व गराउन समेत माग गरेका छन् । होटल व्यवसायीहरुले घरभाडामा ५० प्रतिशत छुटको व्यवस्था गर्न र घरभाडा छुट दिने घरधनीको बैंक ऋणको ब्याजमा सहुलियत दिनसमेत माग गरेका छन् ।





