१७ असार, लहान । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकामा दुई जना प्रमुख प्रशासकीय अधिकृत हाजीर भएपछि उत्पन्न विवादका कारण गाउँपालिकाको कामकाज अवरुद्ध भएको छ ।
गाउँपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनिलाल यादवले कामकाज गरिरहेका बेला प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा भएर आउनुभएका सुजितकुमार यादव पनि हाजीर भएपछि गाउँपालिकाको कामकाज कसले अघि बढाउने भने विवाद बढे्को हो ।
चालु आर्थिक वर्ष ०७६/०७७ सकिन केही दिन मात्र बाँकी रहेका बेला दुई प्रमुख प्रशासकीय अधिकृतबीचको विवादले गाउँपालिकाको विकास निर्माणसँगै कार्यालयको प्रशासनिक कार्य अवरुद्ध भएको कर्मचारीहरुले बताएका छन् । विवाद बढ्दै गएपछि आर्थिक वर्ष ०७६/०७७ को अन्तिम समयमा विगत तीन सातादेखि बैंक खाता रोक्का भएका छन् ।
आर्थिक वर्ष ०७६/७७ को अन्तिम समयमा नियोजित रुपमा जिल्लाको भगवानपुर गाउँपालिकाबाट सरुवा भएर आएकाले तत्काल हाजीर नगराउने गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले अडान लिएपछि सुजितकुमार यादव छुट्टै रजिष्टरमा गत जेठ ३० गते हाजीर भई लहानस्थित एनसीसी बैंकमा रहेको गाउँपालिकाको खाता रोक्का गराएको हो ।
प्रमुख प्रशासकीय अधिकृतको रुपमा आफू सरुवा भएर आएकाले तत्काल हाजीर गराउनुपर्नेमा त्यसो नगरी गाउँपालिका अध्यक्ष साहले निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनिलालबाटै काम सम्पादन गराउन खोजिएपछि बाध्य भएर हाजीर भई तत्कालका लागि खाता रोक्का गराइएको सुजितकुमार यादवले बताए ।
‘‘भगवानपुर गाउँपालिकाबाट सरुवा भएर आएको दुई सातासम्म पनि हाजीर हुन दिएन्” यादवले भने, ‘‘हाजीर गराउन पटक पटक गाउँपालिकाको अध्यक्षलाई आग्रह गर्दा, उनले आर्थिक मसान्त सकिएपछि मात्र हाजीर गराउने भन्दै पन्छिँदै आएकाले बाध्य भई आफैँ हाजीर भए ।” हाजीर भए पनि विभिन्न बहानामा काम गर्न अवरोध खडा गर्ने र निमित्त प्रमुख प्रशासकीय अधिकृतको रुपमा धनिलाल यादवबाटै काम गराउन खोजिएपछि आर्थिक अनियमितता हुनसक्ने भएकाले खाता रोक्का गराइएको यादवको भनाइ छ ।
यता गाउँपालिकाका अध्यक्ष रामबल्लभ साहले आर्थिक वर्ष सकिँनै लाग्दा नियोजित रुपमा सुजित सरुवा भएर गाउँपालिकामा आएको र खाता रोक्का गराई गाउँपालिकाको कामकाज प्रभावित बनाइरहेको आरोप लगाए ।
‘‘सरुवा भएर आउनु भएका यादवलाई असार १३ गते हाजीर गराउने भनेको थिएँ” अध्यक्ष साहले भने, “तर उनी केही राजनीतिक दलका नेताहरुको उक्साहटमा हामी सबैलाई अटेर गरी आफैँ छुट्टै रजिष्टरमा हाजीर गर्दै आएका छन् सुनेको छु, अहिलेसम्म हाम्रो कार्यालयमा हाजीर भएका छैन ।” तर गाउँपालिकाको लेटर प्याड दुरुपयोग गर्दै बैंकलाई पत्राचार गरी गाउँपालिकाको खाता रोक्का गराएको गाउँपालिका अध्यक्ष साहको भनाइ छ ।





