२० असार, काठमाडौँ । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य देवेन्द्र पौडेलले पछिल्लो समयमा पार्टीभित्र देखिएको समस्या समाधानका लागि नयाँ ढङ्गबाट अगाडि बढ्नुपर्ने बताएका छन् । यहाँ आज आयोजित साक्षात्कारमा सांसदसमेत रहेका पौडेलले अहिले देखिएको पार्टी भित्रको समस्या समाधानका लागि ‘नयाँ आधारमा नयाँ एकता’ हुनुपर्छ भने।
उनले पार्टी भित्रका समस्या सुल्झाउनका निम्ति औपचारिक बैठकको निरन्तरताभन्दा पनि ‘साइड होमवर्क’हरु गरी बैठकलाई टुङ्गो लगाउन स्थायी कमिटी बैठक स्थगन गरिएको र अहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल र वरिष्ठ नेताहरु पनि गृहकार्यमा रहेको स्पष्ट पारे । उनले नेकपालाई कुनै पनि हालतमा फुट्न नदिने प्रतिबद्धता जनाउँदै आफूहरुलाई फुट र विभाजन कुनै पनि हालतमा स्वीकार्य नभएको बताए ।
उनले भने, “फेरि पनि पदको निम्ति मात्रै छलफल गरेर जनताले छुट दिँदैनन्, कम्युनिष्ट पार्टी स्थापनाको यो ७० वर्षको इतिहासमा धेरै जना साथीहरुको योगदान छ । त्यो कुरालाई कसैले पनि नजरअन्दाज नगरौँ ।” पार्टीभित्र अहिले देखिएको समस्या हल गर्ने प्रमुख दायित्व र जिम्मेवारी प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालको भएको उनको भनाइ छ ।





