२५ असार, हुसिमकोट । जिल्लाको दक्षिण क्षेत्रबाट दुई महिलाको आज एकै पटक उद्धार गरिएको छ । चङ्खेली गाउँपालिका वडा ४ निवासी ३३ वर्षीया हजारी शाही र २६ वर्षीया गम्भीरा शाहीको उद्धार गरिएको हो ।
हजारीलाई असार २० गते व्यथा लागे पनि गाउँमै रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि उच्च रक्तश्रावको समस्या निम्तिएपछि नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको जनस्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए। ।
गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार सफल नभएपछि जिल्ला प्रशासन कार्यालयको समन्वयमा राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा उद्धारका लागि हेलिकप्टर पठाउन पत्राचार गरिएको पाँच दिनपछि उद्धार भएको प्रमुख सिंहले बताए ।
यस्तै गम्भीराको व्यथा लागेको चार दिनपछि नेपाली सेनाको हेलिकप्टरबाट आज उद्धार गरी सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए ।
असार २० गते हेलिकप्टर पठाउन पत्राचार गरिए पनि लगातारको वर्षाका कारण उद्धारमा ढिलाइ भएको हो । दुवैको अवस्था गम्भीर छ ।
उनीहरु दुवैलाई चङ्खेली गाउँपालिकाको केन्द्र पिप्लाङबाट सीधै उद्धार गरिएको मेल्छाम प्रहरीचौकीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।





