पु.समाचार

चारपटक स्थगीत नेकपाको स्थायी कमिटी बैठक आज बस्दै

२ साउन काठमाडौं । चारपटक स्थगीत हुँदै आएको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटीको बैठक आज फेरी बस्दै छ । तग असार १७ गतेदेखी चार पटकसम्म स्थगित हुँदै आएको स्थायी कमिटी बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो । यस बीचमा शीर्ष नेताहरुले पटक–पटक बैठकको माधयमबाट सहमतिको प्रयास गरे पनि अझै टुंगिएको छैन ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामा मागपछि बढेको विवादका कारण बैठक स्थगित हुँदै आएको थियो । सहमतिको लागि अझै केही समय लिने नेताहरुको तयारी छ । आजको स्थायी कमिटी बैठक औपचारिकताको लागि मात्रै बस्ने र स्थायी कमिटीबाट केन्द्रीय कमिटी बैठक बोलाउने नेकपाको तयारी छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा हिजो भएको अध्यक्ष ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालसहितको छलफल निष्कर्षविहीन भएपछि स्थायी कमिटी बैठक रोकेर केन्द्रीय कमिटी बैठक बोलाउने र त्यसबीचमा सहमतिको प्रयास गर्ने नेताहरूको तयारी छ ।

गएको असार १० गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा सरकार हटाउन छिमेकी भारत र नेताहरू भित्रभित्र लागेको भनी प्रधानमन्त्री ओलीले दिएको पछिल्लो अभिव्यक्ति र नेकपा (एमाले) नामक पार्टी निर्वाचन आयोगमा दल दर्ताको निवेदन परेको विषयले प्रवेश पाएपछि विवाद छताछुल्ल भएको हो । सचिवालय र स्थायी कमिटीका सदस्यहरुले राजीनामा दिन दबाब दिए पनि पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले राजीनामा नदिने अडान राख्दै आएका छन् ।