२ साउन काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी कमिटी बैठक साउन चार गतेसम्मका लागि स्थगित भएको छ ।
आज बिहान ११ बजेको लागि डाकिएको बैठक तीन बजेका लागि स्थगित भएको थियो, तीन बजे बोलाइएको बैठक पुन साउन चार गतेसम्मका लागि स्थगित भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
असार १० गतेदेखि जारी स्थायी कमिटीको पाँचौं बैठक आजै अन्त्य हुने बताइए पनि बैठक पुन सरेको छ । पार्टी भित्रको संकट व्यवस्थापनका लागि एक महिनाभित्र केन्द्रीय कमिटी बैठक बोलाउने तयारी रहेको पार्टीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिएका छन् ।
बुधबार पार्टी अध्यक्षद्वय र वरिष्ठ नेता माधव नेपालसहितको वार्ता भएको थियो । त्यसले पनि निकास दिन नसकेपछि अब केन्द्रीय कमिटी बैठक नै बोलाउने तयारी थालिएको नेताहरूले बताएका छन् ।
पटक पटकका छलफलमा प्रधानमन्त्री ओलीले आफ्ना अडान कायमै रख्नुभएकाले सहमति हुन नसकेको दाहाल नेपाल पक्षका नेताहरुले बताएका छन् भने प्रधानमन्त्रीबाट राजीनामा नदिइ समस्या समाधान खोज्न तयार रहेको ओली पक्षका नेताहरुले बताउँदै आएका छन् ।





