३ साउन काठमाडौं । काठमाडौं लगायत देशका अधिकांस स्थानमा शुक्रबार रातिदेखि निरन्तर वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार काठमाडौं उपत्यकामा शुक्रबार राति ८ बजेभन्दा अलि अगाडि नै वर्षा सुरु भएको हो ।
मौसमविद् बासीका अनुसार काठमाडौं उपत्यकासहित केही स्थानमा रातिदेखि नै लगातार वर्षा भइरहेको हो । विशेषगरी कञ्चनपुर, दाङ, कैलाली तथा विशेषगरी तराई क्षेत्रमा अहिले पनि वर्षा भइरहेको उनले जानकारी दिएकी छिन् ।
काठमाडौं उपत्यकामा अहिले बिहानसम्ममा ३०.७ मिलिमिटर वर्षा भएको मौसमविद् बासीले जानकारी दिईन । अहिले मनसुनमा ५० मिलिमिटरभन्दा माथिको वर्षालाई भारी वर्षा भनिन्छ । मौसमविद्का अनुसार भारी वर्षा दुई किमिसबाट हुन्छ । एउटा– एकैपटक ठूलो पानी परेर, अर्काे– लगातार पानी परेर । यस्तै अहिले पनि काठमाडौं उपत्यका लगाएतका विभिन्न स्थानमा मध्यम खालको वर्षा भईरहेको छ ।
आज (दिउँसो तथा राति) देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ भने प्रदेश १, २, ५, बागमती र कर्णालीका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले आज शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । २४ घण्टे चेतावनी जारी गर्दै महाशाखाले भारी वर्षा निरन्तर भईरहेकाले पहिरो तथा बाढीको जोखिम रहेका क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।
साथै आजदेखि पानी पर्ने क्रम बढेको छ । विशेषगरी प्रदेश १, २, वाग्मती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै र अरु प्रदेशका थोरै ठाउँमा पानी परिरहेको छ । यस्तै गएराति देखीको जारी वर्षाका कारण काठमाडौंका विभिन्न खोला नालाहरुमा पानीको सतह बढेको छ । उपत्यकाका बागमती, विष्णुमति, मनोहरा, हनुमन्ते, नख्खुलगायत अन्य साना नदीहरूमा पानीको बहाव बढिरहेको जल तथा मौसम विज्ञानका विभागले बिहान साढे ६ बजे जारी गरेको सूचनामा जनाईएको छ ।
साना नदी र नालाको पानी किनारको सडकसम्म आउन सक्ने चेतावनी दिइएको छ । सडक किनारको बाटो भई यात्रा गर्दा अर्को तीन घण्टा सामान्य सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ । साथै मुलुकैभरी केहिदिनसम्म भरी वर्षाको सम्भावना रहेकाले वाढी, पहिरो तथा डुवान हुनसक्ने भन्दै सतर्क रहन मौसम विभागले आग्रह गरेको छ ।





