३ साउन काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवाद समाधानको प्रयासका लागि आज सचिवालय बैठक बस्दै छ । नेकपा भित्र चुलिएको विवाद समाधानका लागि दुई अध्यक्ष पटक–पटक वार्तामा बसेपनि बिवाद समाधान हुन नसकेपछि स्थायी कमिटीको बैठक स्थगीत हुँदै आएको छ ।
पार्टीको विवाद उत्कर्षमा पुगेपछि शीर्ष नेताहरुबीच दुई पक्षीय र त्रिपक्षीय छलफल भएपनि छलफलबाट पनि सहमति नजुटेपछि नेताहरु सचिवालय बैठकमाफर्त समस्या समाधानमा जुटेका हुन् । यसअघि सचिवालय बैठकमा विवाद बढेपछि स्थायी कमिटी बैठक सुरु गरिएको थियो ।
गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए । प्रधानमन्त्री ओली भने दुवै पद नछाड्ने अडानमा कायमै छन् जसले गर्दा विवाद सुल्झिन सकेको छैन । यस्तै शुक्रबार स्थायी कमिटीकाृ बैठक स्थगीत गर्दै सचिवालय बैठक बोलाउने नेकपामा सहमति भएको थियो ।





