३ साउन काठमाडौं । फेरी पनि सुनसरीको घुस्कीमा तस्कर र सशस्त्र प्रहरीबीच आज (शनिबार) पनि झडप भएको छ । भारतीय सिमावर्ती हरिनगर गाउँपालिका वडा नम्बर ७ मा तस्कर समूहले सशस्त्र प्रहरीमाथि आक्रमण गरेपछि झडप भएको हो ।
भारत तर्फबाट तस्करी गरी ल्याइएको सामान रोकेको विषयलाई लिएर तस्कर समूह डिउटीमा रहेका सुरक्षाकर्मी उपर जाई लागेको बताइएको छ । सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीका प्रमुख एसपी कृष्ण ढकालका अनुसार ८ देखि १० जनाको समूह सुरक्षाकर्मीमाथि ढुङगामुडा गर्दै आएका थिए । तस्करहरुले प्रहार गरेको ढुङ्गामुडाबाट सशस्त्र प्रहरी जवान जिवराज विसुन्खे घाइते भएका छन् । उनको टाउको र ढाडमा गम्भिर चोट लागेको एसपी ढकालले जानकारी दिएका छन् ।
रातिको समयमा ड्युटीमा रहेका सुरक्षाकर्मीमाथि आक्रमण हुन थालेपछि उक्त समूहलाई सम्झाएर हटाउन खोजेपनि अवस्था साम्य नहुँदा गोली चलाउउनु परेको उनले बताए । ढकालका अनुसार तस्कर समूहले हतियारनै खोस्ने प्रयत्न गरिरहँदा लोड गरिएको बन्दुक पड्किएको हो ।
सो क्रममा हतियार खोस्ने प्रयन्तमा रहेका घुस्कीका २० वर्षीय संवाद अन्सारीको पेटमा गोली लागेको सशस्त्र प्रहरीले जनाएको छ । उनको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । घाइते सशस्त्र प्रहरीको पनि बीपीमा उपचार भइरहेको ४ नम्बर गण सुनसरीले जनाएको छ ।
बीओपीमै आएर आक्रमण गरिनुलाई सशस्त्र प्रहरी ४ नम्बर गण सुनसरीले गम्भिर रुपमा लिएको छ । उसले तस्कर र तस्करीका सामानलाई नियन्त्रणमा लिन सुरक्षाकर्मीले चाल्दै आएका कदम विरुद्ध बारम्बार अवरोध हुँदै आएको जनाएको छ । सुनसरीको दक्षिणवर्ती क्षेत्रमा यसअघि समेत पटक पटक सशस्त्र र तस्करबीच झपड भैसकेको छ ।





