पु.समाचार

मेयर/अस्पतालका मेसु/ स्वास्थ्यकर्मी गरी पर्सामा ९२ जनामा कोरोना पुष्टि

१ भदौ, काठमाडौं । पछिल्लो समय कोरोनाको हटस्पट बन्दै गएको पर्सामा  मेयर र अस्पतालमा मेसु सहित  एकैपल्ट ९२ जनामा कोरोना देखिएको छ पोखरिया नगरपालिकाका मेयर दीपनारायण प्रसाद रौनियार सहित पर्सामा थप ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यीमध्ये ३८ जना वीरगन्ज महानगरपालिकाका बासिन्दा हुन् । साउन २६ गते वीरगन्ज– ११ श्रीपुरमा गरिएको स्वाब संकलनमा ११ जना र साउन २७ मा त्रिजुद्ध स्कुलमा गरिएको स्वाब संकलनमा २७ जनामा कोरोना पुष्टि भएको हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार विभिन्न पालिकाको क्वारेन्टाइनमा रहेका तथा कन्ट्याक्ट ट्रेसिङमा परेकाको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाइएको थियो । नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट्स अभाव भएपछि साउन २७ मा ११ सयभन्दा बढी स्वाब नमुना टेकु पठाइएको हो ।

आइतबार बेलुकीसम्म प्राप्त रिपोर्टअनुसार पोखरियाका ३३ जनामा कोरोना पुष्टि भएको छ । मेयर रौनियारसहित उनको परिवारका ८ जना, पोखरिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट सहित ६ जना स्वास्थ्यकर्मीमा पनि कोरोना देखिएको स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले बताए ।

त्यस्तै जगरनाथपुर गाउँपालिकामा ४ स्वास्थ्यकर्मी सहित १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । उक्त गाउँपालिकामा साउन २७ मा स्वाब संकलन गरिएको थियो । सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

त्यहाँ साउन २६ मा स्वाब संकलन गरिएको थियो । साउनमा मात्र जिल्लामा १ हजार १ सय ५४ जना कोरोना संक्रमित थपिएका छन् । लकडाउन खुलेयता मुलुकका कोरोना संक्रमण तिब्र बृद्धि भएको छ । पछिल्लो समय फ्रन्टलाईनमा भएर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी संक्रमित बन्दै गएका छन् ।