११ भदौ, वीरगञ्ज । कोरोनाको हटस्पट बन्दै गएको पर्साको वीरगञ्जमा आज बिहानै थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
एक गर्भवति महिला र एक पुरुषको संक्रमणका कारण आज बिहान ज्यान गएको हो । वीरगन्जको अस्पतालमा पर्साका १ र बाराका १ गर्भवती महिला गरी ३ जनाको मृत्यु भएको हो । वीरगन्जको गण्डक बहुअरीस्थित वीरगन्ज हेल्थ केयर कोभिड अस्पतालमा बिहीबार बिहान वीरगन्ज महानगरपालिका वडा नम्बर १४ बहुअरीका ६२ वर्षीय पुरुषको मृत्यु भएको हो ।
साउन ३० गते कोरोना संक्रमण पुष्टि भएपछि त्यहि दिन उनी वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना भएका थिए । मृगौला रोगी ती पुरुषमा निमोनियाको पनि समस्या रहेको र उपचारका क्रममा उनको बिहीबार बिहान ८ बजे मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डाक्टर अतुलेश चौरसीयाले जानकारी दिएका छन् ।
यस्तै वीरगन्जकै नारायणी अस्पतालमा उपचाररत कारोना संक्रमित बाराकी एक गर्भवती महिलाको पनि बिहीबार बिहान मृत्यु भएको छ । बाराको सुर्वण गाँउपालिका –४ हर्दिया गाँउकी २३ वर्षीया गर्भवती महिलाको बिहीबार बिहान ६ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डाक्टर चौरसीयाले जानकारी दिएएका छन् । गत भदौ ८ गते स्वास्थ्यमा समस्या आएपछि उपचारको लागि नारायणी अस्पतालमा ती महिलालाइ भर्ना गरिएको थियो ।
ती महिलामा श्वासप्रश्वासमा समेत सम्स्या देखिएपछि उनको स्वाब संकलन गरी नारायणी अस्पतालकै प्रयोगशालामा परीक्षण गर्दा बुधबार उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । अस्पतालकै आइशोलेसन वार्डमा उपचाररत ती महिलाको बिहीबार बिहान मृत्यु भएको डाक्टर चौरसियाले बताएका छन् ।





