अन्तर्राष्ट्रिय

फ्रान्समा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणका लागि अत्यधिक सावधानी अपनाइने

एजेन्सी । फ्रान्सको राजधानीमा कोरोना भाइरसको दोस्रो लहरको सङ्क्रमण बढ्न थालेसँगै नियन्त्रणका थप उपाय अवलम्बन गरिन लागेको पेरिस प्रहरी प्रमुख डिडियर लालेमन्टले सोमबार बताएका छन् ।

पेरिसमा संक्रमण बढ्दै गएपछि मंगलबारदेखि बारहरु पूर्ण रुपमा बन्द हुने बताइएको छ । कोभिड–१९ का कारण इटाली र स्पेनपछि बढी प्रभावित मानिएको फ्रान्समा महामारीका कारण अहिलेसम्म सङ्क्रमितको सङ्ख्या छ लाख १९ हजार १९० व्यक्ति प्रभावित बनेका छन् । फ्रान्समा कोरोनाभाइरस सङ्क्रमित ३२ हजार २३० व्यक्तिको मृत्यु भएको छ ।

यूरोपमा देखिएको पहिलो लहरको सङ्क्रमणमा केही कमी देखिन थालेपछि र सङ्क्रमण नियन्त्रणका लागि लिइएका उपायका कारण उद्योग तथा राष्ट्रिय अर्थतन्त्र प्रभावित बनेपछि यूरोपका विभिन्न मुलुकले लकडाउनलाई खुकुलो बनाएको थियो ।

राजधानी पेरिसले आगामी १५ दिन सङ्क्रमण नियन्त्रणका लागि थप कडाइ गर्न लागेको डिडियरले बताए । उनले भने, “यो बिहान हामीले सङ्क्रमण नियन्त्रणका लागि नयाँ कदम लिएका छौँ । नयाँ नियन्त्रणका उपाय बढी बाक्लो वस्ती रहेका पेरिस र यसको भित्री घेरामा रहेका वस्तीमा १५ दिनका लागि लागु गरिने छ ।”