१८ कार्तिक, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य सूर्य बहादुर केसीको ६३ वर्षको उमेरमा निधन भएको छ ।
पोखरास्थित आफ्नै घरमा गएराति उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ। उनी लामो समययता मधुमेह र रक्तचापको समस्या झेलिरहेका थिए। पहिलो पटक राप्रपाबाट संविधानसभाको सदस्य बनेका केसी तीन वर्ष अघिको प्रतिनिधिसभाको चुनाव अघि मात्रै नेपाली कांग्रेस प्रवेश गरेका थिए। उनी समानुपातिकबाट सांसद बनेका हुन् ।
पोखरा उपमहानगरपालिकाको तत्कालीन प्रधानपञ्चसमेत रहेका केसी नेपालकै सफल उद्योगी पनि हुन् । प्रख्यात रारा चाउचाउ, हाईड्रो लगायत विभिन्न ब्यापारका सफल व्यवसायी केसीले सामाजिक क्षेत्रमा पनि उत्तिकै योगदान दिँदै आएका थिए । उनकै कम्पनी रारा चाउचाउले प्रायोजन गर्ने आहारा गोल्डकप पोखरामा मात्रै नभई देशविदेशमा पनि चर्चित छ ।





