राजनीति

राजावादीको प्रर्दशनमा डा.संग्रौलाको टिप्पणीः आगोको सानो झिल्कोलाई समयमै निभाऔं

१२ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा.डिला संग्रौलाले मुलुकमा अहिले भईरहेको राजावादीहरुको प्रर्दशनबारे समयमै सचेत रहन आग्रह सबैलाई गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै डा.संग्रौलाले मुलुकमा अहिले चौतर्फि ‘राजा आउ देश बचाउ’को नारा लागिरहेका बेला आगोको सानो झिल्कोलाई समयमै निभाउन आग्रह गरेकी छन् । उनले सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको विवाद र नेपाली कांग्रेसको मौनताका कारण परिबर्तन बिरोधि दक्षिण पन्थी शक्ति सल्बलाउन पुगेको बताइन् ।

उनले भनेकी छिन् ‘मुलतः कम्युनिस्ट सरकारको अराजकता र प्रतिपक्षी दल समेतको शिथिलताको परिणामस्वरूपले परिबर्तन बिरोधि दक्षिण पन्थी शक्ति सल्बलाउन पुगेका छन् । आगोको सानो झिल्कोलाई समयमै निभाउने काम गरौं’, ।

प्रतिनिधिसभा सदस्य समेत रहेकी डा. संग्रौलाले दस बर्षको हिंसा र २०६२र६३ को परिबर्तन पछि १४ बर्ष हुँदा पनि आमजनताले अपेक्षा गरेअनुसार अनुभुती प्राप्त गर्न नसक्दा र भ्रष्टाचार, आन्तरिक मामिलामा बाहिरी चलखेल, धर्म परिबर्तन, कुशासन आदिलाई ब्वबस्थित गर्न नसक्दा उब्जिएका प्रश्नहरुले अन्योलता छाएको बताएकी छन् ।

उनले भनिन्ः ‘जबजब गणतन्त्रबादी शक्तिहरुको बिचमा बिचलन देखापर्दछ तबतब दक्षिणपन्थी शक्ति सलबलाउदै लोकतान्त्रिक ब्यबस्था फेल भएको र जनतामा बितृस्णा उत्पन्न भएको भनी सुनियोजित रुपमा प्रदर्सन हुनेगरेको छ’, उनले भनिन्, ‘यसैलाई बहानाबाजी बनाइ ब्यबस्थाप्रति लान्छना लगाउनु कदापि नेपाली जनतालाई सह्य छैन । लोकतन्त्रको विकल्प लोकत्रन्त्रमात्र हुनसक्छ नकि एकात्मक राजाबादी शासन ।’

उनले राजा र धर्म फरक चीज भएको बताउँदै दस जनाको बुद्धि नपुगेको ठाउँमा एक जनाको बुद्धि पुग्ने भए पहिले किन हटाएको ? अब फेरि किन खोजेको ? भन्दै प्रश्न समेत गरेकी छन् । उनले अगाडी भनिन्ः ‘यसको बिमर्श हुन जरुरी छ । धर्म र राजा एकै होइन । धर्मले सबैको हित चिताउदछ । राजा मान्छे हुने भएकाले राम्रो नराम्रो दुबै हुन सक्छ । संसारका कुनै धर्म खराब छैनन् तर राजाहरु प्रशस्त खराब छन् इतिहासमा’ ।