राजनीति

नेकपा सचिवालय बैठक आजपनिः ओली नै उपस्थित नहुने

१७ मंसिर, काठमाडौं । आन्तरिक रुमलिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दै छ । तर, बैठकमा अध्यक्ष केपी शर्मा ओली नै उपस्थित नहुने भएका छन् । ओलीले हिजो (मंगलबार) को बैठकबाट बाहिरिने क्रममा बैठकमा उपस्थित हुनुको अर्थ नरहेको बताए थिए ।

हिजो बसेको बैठकमा दुई अध्यक्ष ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बाझाबाझ भएको थियो । दुई अध्यक्षबीचको विवादमा सचिवालयका बहुमत सदस्यले दाहालको पक्ष लिएपछि अप्ठेरोमा परेका ओली बैठकमा उपस्थित हुनुको अर्थ छैन भन्दै बैठकबाट बाहिरिएका थिए । उनी आजको बैठकमा नजाने ओली निकट एक नेताले जानकारी दिएका छन् ।

अध्यक्ष नै बैठकमा उपस्थित नहुने भएपछि आजको बैठक बस्ने की रोक्ने भन्ने अन्योलता बढेको छ । यद्यपी कार्यकारी अध्यक्ष दाहालसहितका बहुमत सदस्य जो जो उपस्थित हुन्छन् उनीहरु मात्रै बसेर भएपनि बैठक अघि बढाउनु पर्ने पक्षमा छन् । बैठक दिउँसो १ बजेलाई बोलाइएको छ ।

मंगलबारकोे बैठकमा दाहालले बैठक शुरु गर्दै पेश भएका दुई अध्यक्षको प्रतिवेदनमा छलफल अगाडी बढ्ने बताएलगत्तै ओलीले दाहालको लाञ्चनापत्रमा छलफल नहुने भन्द हस्तक्षेप गरेका थिए । तर ओलीको यो शैलीप्रति अरु नेताले आपत्ति जनाउँदै बैठकमा आएका दुबै प्रतिवेदनमा छलफल हुने अडान लिएका थिए ।

त्यसलगत्तै प्रतिरक्षात्मक बनेका ओली बुधबारको बैठकमा आफू नआउने जनाउ दिएका थिए । कार्तिक २८ मा अध्यक्ष दाहाल र मंसिर १३ मा ओलीले पेश गरेका प्रतिवेदनमाथि छलफल गर्ने नगर्ने मै नेताहरुबीच भनाभनको अवस्था आएको थियो ।

बैठकको अध्यक्षता गरिरहेका दाहालबाट एजेण्डा सुनेपछि बोलेका ओलीले दाहालको प्रस्तावलाई लाञ्छनापत्र भन्दै फिर्ता भएमात्रै छलफल गर्न आफु तयार हुने बताएका थिए ।

ओली लाञ्छना पत्र मान्न नसकिने, बहुमत, अल्पमत र कमिटी पनि नमान्ने भन्दै जगिंएका थिए । ओलीको यस्तो भनाई सुनेपछि दाहाल सहितका बहुमत नेताले भने बैठकमा छलफल गर्नुपर्नेमा जोड दिएका थिए ।