१७ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीको मंगलबारको बैठकमा केहि चर्का चर्किपछि आजको बैठकमा नबस्ने भनेका नेकपा अध्यक्ष केपी शर्मा ओली अन्ततः बस्न सहमत भएका छन् । हिजो बसेको बैठकलाई आज फेरी निरन्तरता दिने कार्यकारी अध्यक्ष पुष्पकमल दाहालको प्रस्तावमा ओली जंगिएका थिए ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली आजको बैठकमा पनि सहभागी हुने भएका छन् । यसअघि ओलीका प्रेस सल्लाहकार सुर्य थापाले प्रधानमन्त्री ओली कार्य व्यस्तताका कारण देखाउँदै आजको बैठकमा बस्न नसक्ने बताएका थिए ।
तर ओलीले आफु निकट नेताहरुसंग छलफल गरेपछि बैठकमा बस्ने सहमती जनाएको स्थायी कमिटि सदस्य तथा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिएका छन् ।
साथै प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले पनि ओली आजको बैठकमा बस्ने जनाएका छन् । हिजो बसेको नेकपा सचिवालय बैठक आजपनि दिउँसो १ वजे प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा बस्ने भएको छ ।





