२७ मंसिर, काठमाडौं । आफुहरुले पाउनु पर्ने रकम नपाएको भन्दै उँखु किसान फेरी चिढिएका छन् । चिनी उद्योगहरूबाट लिनुपर्ने करिब ९० करोड उठाउन निर्णायक आन्दोलनको घोषणा देशभरका उखु किसानले गरेका छन् ।
भोली (आइतबार)देखि थाल्ने आन्दोलनका लागि देशभरबाट एक हजार आन्दोलनको घोषणा सँगै उखु किसान काठमाडौं आएका छन् । भने केहि आउने क्रम जारी छ । पहिलो चरणमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्ने उनीहरूको योजना छ ।
उखु बेचेको पैसा माग्दामाग्दा आफुहरु हैरान भएको र अब २८ गते बिहानदेखि वारपारको आन्दोलन सुरु हुने उखु किसान संघर्ष समिति सर्लाहीका सचिव हरिश्याम रायले बताएका छन् । अब भने आफुहरुले पाउनुपर्ने सबै पैसा बोकेर मात्रै घर फर्किने यदि आन्दोलनमै मर्नुपरेछ भने पनि त्यसका लागि तयार भएर आउँदै आफूहरु काठमाडौ आउन लागेको सचिव रायले बताए । आज दिउँसोदेखि नै किसानहरू काठमाडौं आइपुग्ने क्रम सुरु हुने उनले बताए ।
यसअघि २३ कात्तिकमा रायसहितका १२–१३ जना उखु किसान न्याय माग्दै काठमाडौं आएका थिए । उनीहरूले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टलाई भेटेर ज्ञापनपत्र बुझाउँदै बक्यौता भुक्तानी नभए छठलगत्तै आन्दोलन गर्ने जानकारी गराएका थिए । त्यतिवेला उनीहरूले २७ कात्तिकबाट आन्दोलन गर्ने बताएका थिए । तर, यसबीचमा मन्त्रालयले उद्योगी भेला गरेर बैठक बस्ने र किसानको भुक्तानी दिन पहल थालेकाले आन्दोलन एक महिना धकेलिएको रायको भनाइ छ ।
नगदे बालीका रूपमा परिचित उखुखेती गर्ने किसानलाई बर्सेनि चिनी मिल सञ्चालकले भुक्तानीका लागि झुलाउने गरेका छन् । किसानको बक्यौता रकम ९० करोड पुगिसकेको छ । तर, उद्योगीहरूले बक्यौता तिर्नुको सट्टा उद्योग बन्द गरेर दुःख दिन थालेकाले आन्दोलन गर्नुपरेको उनीहरूले बताए । यसैबीच देशभर सञ्चालित १३ चिनी मिलमध्ये ६ वटाले भुक्तानी नदिएर दुःख दिएको किसानहरूको गुनासो छ ।





