राजनीति

ओली सरकारले कहिलै संघर्ष गर्न नपर्नेगरी उँखु किसानका समास्या समाधान गरोसः विवेकशिल साझा

२८ मंसिर, काठमाडौं । विवेकशिल साझा पार्टीले उखु किसानहरूले आफ्नो उत्पादन बिक्री गरेको वर्षौँदेखिको बक्यौता रकम उठाउन गरिरहेका सङ्घर्षमा पार्टीको ऐबद्धता रहेको जनाएको छ ।

पार्टीले आज विज्ञप्ति जारी गर्दै आफ्नो पसिना र परिश्रमको प्रतिफल पाउन समेत सयौँ किलोमिटर टाढा सङ्घीय राजधानी आएर प्रदर्शन गर्नुपर्ने दुखदायी परिस्थितिका लागि मूलतः सरकार जिम्मेवार रहेको भन्दै दुःख व्यक्त गरेको छ ।

गत वर्ष पुष १८ गते उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले एक महिनाभित्रै चिनी उद्योगीहरूबाट किसानहरूलाई भुक्तानी दिलाइदिने सहमति गरेको तर उक्त सहमतिको झण्डै एक वर्ष भइसक्दा पनि त्यसको पूर्ण कार्यान्वयन नगर्नु र उखु किसान पुनः आन्दोलनका लागि काठमाडौँ आएको थाहा पाएर सरकारले चिनी उद्योगी खोज्न थालेको प्रति खेद प्रकट गरेको छ ।

बिवेकशील साझाले यसबाट सरकार आम किसानलाई न्याय दिलाउने पक्षमा छ भन्नेमा प्रशस्त आशंका उब्जिएको बताएको छ । साथै पार्टीले यदि सरकार किसानको पक्षमा छ उखु किसानहरूले आइन्दा एक दिन पनि सङ्घर्ष गर्नु नपर्ने गरी समस्या समाधानका लागि तुरुन्त जिम्मेवार बन्न अनुरोध समेत गरेको छ ।

साथै काठमाडौँको यो जाडोमा आजदेखि हुने आन्दोलनमा सहभागी उखु कृषकहरूलाई आवश्यक सहयोग गर्न सबै नागरिकहरू र पार्टी पङ्क्तिमा पनि अनुरोध गरेको छ । कृषकहरूको उत्थानका लागि कृषि उपजहरूको उपयुक्त न्यूनतम समर्थन मूल्य तोकी खरिद र तत्काल भुक्तानीसमेतको ग्यारेन्टी सरकारी तहबाट गरिनु पर्नेमा जोड दिएको छ ।

सबै कृषि उपजहरूमा उपयुक्त न्यूनतम समर्थन मूल्य आजको आवश्यकता रहेको भन्दै मुलुक कृषिमा आत्मनिर्भर हुनको लागि पनि यो महत्त्वपूर्ण भएको बताएको छ । साझा पार्टीले नेपाल सरकारसँग उखु किसानहरूको समस्या तत्काल समाधान गरी किसानहरूको पक्षमा तत्काल लागू हुने निर्णय गर्न अनुरोध पनि गरेको छ ।