२८ मंसिर, काठमाडौं । चिनी मिलबाट पाउनुपर्ने बक्यौता रकम नपाएको भन्दै सर्लाहीका उखु किसानहरुले प्रदर्शन गरेका छन् । बक्यौता रकम तिर्ने भनेर चिनी मिलले सरकारसँग सम्झौता गरे पनि कार्यान्वयन नगरेको भन्दै किसानहरूले आज माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरू ’श्रम, पसिनाको मूल्य पाउँ’, ’किसानहरू मार्न पाइँदैन’ लगायतका विभन्न नारा लेखिएका प्लेकार्डहरू बोकेर प्रदर्शनमा उपस्थित थिए । रकम भुक्तानीको माग गर्दै किसानहरु काठमाडौंमा आन्दोलन गरेपछि मन्त्रालयले २०७६ पुस १८ गते उखु किसानसँग ५ बुदे सम्झैता गरेको थियो ।
मन्त्रालयले तत्काल भुक्तानीको वातावारण बनाउने, मिल मालिकको सम्पत्ति बिक्री गरेर भए पनि सम्पूर्ण बक्यौता चुक्ता गर्ने आश्वासन दिएको थियो । तर, एक वर्ष बितिसक्दा पनि किसानहरुले अझै उखुको पैसा पाएका छैनन् ।





