राजनीति

ओली सरकारकाे भ्रष्टाचार र अर्कमन्यताका बिरुद्ध आज देशैभरीका सडमा उर्लदै कांग्रेस

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आज सरकारविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्दै छ । पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि दुव्र्यवहार, भ्रष्टाचार र कोरोना नियन्त्रणमा सरकारको लापरवाहीको विरोधमा कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागेको हो ।

यो सरकारप्रति सुरुदेखि नै नरम नीति लिएको कांग्रेस तनहुँमा पौडेलमाथि धरपकड भएपछि चिढिएको थियो । कांग्रेस सभापति शेरबहादुर देउवाले देशभर हुने प्रदर्शन विशेष रूपले महत्त्वपूर्ण भएको भन्दै सक्रिय सहभागिताका लागि पार्टीका सम्पूर्ण सदस्य, समर्थक र शुभचिन्तकसँगै सबै लोकतन्त्र पक्षधरलाई आह्वान पनि गरेका छन् ।

सभापति देउवाले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै कोरोना महामारीका समयमा प्रदर्शनमा भौतिक दूरी राख्न तथा मास्क प्रयोग गर्नरगराउन भनेका थिए । देउवाले जिम्मेवार प्रतिपक्षीको भूमिका निभाउँदै आएकोमा सरकारले त्यसलाई कमजोरीका रूपमा लिएको दाबी गर्दै अब संसद् र सडकबाट सशक्त ढंगले अगाडि बढ्ने स्पष्ट पारेका थिए ।

उनले आजको विरोधलाई सांकेतिक प्रदर्शन भन्दै सरकारविरुद्धको आन्दोलनको सुरुवात भएको बताएका छन् । सरकारले भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लगेको कांग्रेसको आरोप छ । सरकारको कार्यशैली र व्यवहारका कारण आमनागरिकमा सरकारप्रति व्यापक वितृष्णा फैलिएको दाबी कांग्रेसको छ ।

‘जनता कोरोनाका कारण मर्दै गर्दा स्वास्थ्य सामग्रीमा समेत भ्रष्टाचार भएको घटनाभन्दा लज्जास्पद घटना इतिहासमा अर्को के हुन सक्छ ? शक्ति सबै प्रधानमन्त्री कार्यालयमा थुपार्ने अनि जनविरोधी विधेयकमार्फत अघि बढ्न खोज्ने, अधिनायक आकांक्षाको अर्को उदाहरण के जरुरी पर्छ ?’, देउवाको प्रश्न छ, ‘महिला हिंसा र बलात्कार व्यापक वृद्धि हुँदा विकसित देशमा पनि यस्तै हुन्छ भन्ने जवाफभन्दा गैरजिम्मेवार जवाफ के हुन सक्छ ? कोरोनाका कारण हजारौं युवा थप बेरोजगार अनि लाखौं विद्यार्थीको भविष्य अन्योलमा पर्दा सरकारसँग कुनै भविष्य दृष्टि नहुनु भन्दा अर्को सोच शून्यता के हुन सक्छ ?’ कांग्रेसले सोमबारको प्रदर्शनपछि सरकारविरुद्ध काठमाडौंकेन्द्रित आन्दोलन गर्ने तयारी गरेको छ ।

देशव्यापी विरोध प्रदर्शनको तयारीबारे छलफल गर्न मंसिर २५ गते बसेको पूर्व र वर्तमान पदाधिकारीको बैठकले अब काठमाडौंकेन्द्रित आन्दोलन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।