राजनीति

नेकपा बहुमत नेताहरुले नै ओली सरकार नालायकी र भ्रष्टाचारी भनिसकेः वरिष्ठ नेता पौडेल

२९ मंसिर, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई उनकै बहुमत सदस्यले नै भ्रष्टाचारी भनेको बताएका छन् ।

सरकारविरूद्ध काठमाडौंमा आज भएको प्रदर्शन पछिको कोणसभामा बोल्दै उनले‘ ओली सरकार भ्रष्टचारमा डुबेको भन्दै कम्युनिष्ट पार्टीका नेताहरूले नै यो सरकार नालायकी हो, भ्रष्टाचारी हो भनिसकेको धारणा व्यक्त गरेका छन् ।

वाइडबडिदेखि औषधि खरिदसम्म भ्रष्टाचार भएको भन्दै नेता पौडेलले नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार भ्रष्टाचारमा डुबिसकेको बताएका छन् ।

उनले प्रधानमन्त्री कार्यालय सबैभन्दा बढी भ्रष्टाचारी भएको आरोप पनि लगाएका छन् । उनले कांग्रेसका पालामा पनि भ्रष्टाचार भएको स्वीकार गर्दै भ्रष्टाचार गर्नेलाई विगतमा कारवाही समेत गरिएको बताएका छन् ।

मन्त्रीहरूले भष्टाचार गरेका काण्ड बाहिर आउँदा प्रधानमन्त्रीले चोख्याउने काम गर्ने गरेको उनको आरोप छ । नेता पौडेलले भ्रष्टाचारको छानबिन गर्ने निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि प्रधानमन्त्रीको इसारामा चलेको र केहीलाई खतमाफ दिने अड्डा बनेको बताएका छन् ।