राजनीति

नेकपा बिवादः ओली र प्रचण्ड-नेपालको छुट्टा-छुट्टै केन्द्रिय कमिटी बैठक बस्दै

७ पुष, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि नेकपा फुटको संघारमा पुगेको छ । नेकपामा दुई गुट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड-वरिष्ठ नेता माधव कुमार नेपाल र अर्का अध्यक्ष ओली आ–आफ्नै शैलिमा चलेका छन् ।

दुई गुट एक अर्का प्रति आरोपमा त उत्रिएका थिए नै पछिल्लो समय ओलीले संसद बिघटन गरेपछि दाहाल–नेपाल पक्षले ओलीलाई कारबाहि गर्ने जनाएको छ । यसैक्रममा आज दुबै पक्षले छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक समेत बोलाएका छन् । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एवं माधवकुमार नेपाल पक्षको छुट्टाछुट्टै बैठक बस्न लागिएको हो ।

दुवै पक्षले बैठकमा सहभागी हुन सबै केन्द्रीय सदस्यलाई सूचना पठाएका छन् । प्रधानमन्त्री ओलीपक्षको बैठक बिहान ९ बजेका लागि र कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ । काठमाण्डौको एक ब्याङ्क्वेटमा दिउँसो १ बजेका लागि बोलाइएको प्रचण्ड–नेपाल पक्षको बैठकले केपी ओलीलाई अनुशासनको कारबाही गर्ने नेताहरुले बताएका छन् ।

प्रचण्ड-नेपाल पक्षले संवैधानिक र कानुनी दृष्टिले प्रतिनिधिसभा विघटन नभएको तर्क गर्दै पुनःस्थापनाको मागसहित प्रस्ताव पास गर्ने, त्यसका लागि संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुसँग मिलेर संयुक्त आन्दोलनमा जाने निर्णय गर्नेसमेतको तयारी गरेको छ । यसअघिको नेकपा स्थायी कमिटी बैठकले ओलीलाई अनुशासनको कारबाही गर्ने निर्णय गरेको थियो ।

यसैबीच, बहुमतले कारबाही गरे एकता भंगका लागि निर्वाचन आयोगमा पत्राचार गर्ने ओली समूहले तयारी गरेको छ । बैठकमा सहभागी हुन भन्दै उपत्यका बाहिर रहेका सबै केन्द्रीय कमिटी सदस्यहरु काठमाण्डौ आइपुगेका छन् । प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नु भएसँगै नेकपाका नेताहरु औपचारिक रुपमै विभाजित भएका छन् । आजको दुई समानान्तर बैठकहरु नेकपा विभाजनका लागि औपचारिक प्रस्थानबिन्दु हुने विश्लेषण गरिएको छ ।

प्रतिनिधिसभा विघटन गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेपछि ओली-प्रचण्ड समूह एकै ठाउँमा बस्नसमेत सकिरहेका छैनन् । दुवै समूहले हिजो आ-आफ्नो पक्षका संघीय सांसदहरुको भेलासमेत गरेका थिए ।