बनेपा, ११ पुस । राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले नागरिकमैत्री नगर बनाउनका लागि सूचना पारदर्शी गर्न आवश्यक रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोगको आयोजना तथा नमोबुद्ध नगरपालिकाको समन्वयमा शुक्रबार काभ्रेपलाञ्चोकको भकुण्डेबेँशीमा आयोजना गरिएको स्थानीय तहका जनप्रतिनिधि, कर्मचारी, समुदाय र समूहका लागि ‘सूचनाको हकसम्बन्धी अन्तरक्रिया’ कार्यक्रममा उन्ले नागरिकले मागेको सूचना उपलब्ध गराउनु नगरको दायित्व भएको बताए ।
सूचना मागेको कारणबाट नभई पारदर्शिता होस् भन्ने हिसाबबाट पनि कहिलेकाहीँ राष्ट्रिय सूचना आयोगले आदेशसमेत गर्ने गरेको उन्को भनाइ छ । “सूचना दिएर बिग्रने होइन, मागेपछि दिनुपर्छ”, उनले भने, “सूचना दिनु भनेको हामीले गरेको काम नागरिकले परीक्षण गर्ने अवस्था सिर्जना गर्नु हो, त्यो अवसर नागरिकलाई दिनुपर्छ ।”
नमोबुद्ध नगरपालिका प्रमुख टङ्कप्रसाद तिमल्सिनाले नगरपालिकामा जो कोहीले सूचना माग्न आए पनि आधा घण्टाभित्रमा अवस्थाअनुसार सूचनाको उपलब्धतालाई छिटो र सहज बनाउन सूचना अधिकारीलाई निर्देशन दिएको बताए । सो क्रममा उनले आगामी दिनमा सूचनाको हकसम्बन्धी कार्यक्रम सञ्चालन गर्न नीति तथा कार्यक्रममा बजेटको व्यवस्थासमेत गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आयोगका सूचना आयुक्त रत्नप्रसाद मैनालीले नागरिकलाई आफूले तिरेको कर कहाँ कसरी खर्च भयो भन्ने जानकारी पाउने अधिकार भएकाले सूचनाको हकलाई सुनिश्चित गर्न आग्रह गरेका छन्। सूचनाको हकसम्बन्धी व्यवस्थाले सरकारलाई पारदर्शी र उत्तरदायी बनाउने उनको भनाइ छ ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले नागरिकलाई सूचनाको हक प्रदान गर्न सधैँ तयार रहेको बताए । माग गरेको सूचना प्रदान गर्नका लागि सूचना अधिकारीको समेत व्यवस्था गरेको बताउँदै उनले सूचनाको हकको सम्मान गर्दै नेपाली र स्थानीयस्तरमा बढी बोलिने तामाङ भाषामा ध्वनिसहितको नागरिक बडापत्रको व्यवस्था गरिएको बताएका छन् । सबै वडा कार्यालयमा योजनाको विवरण पारदर्शीरुपमा राखिएको र वार्षिक कार्यक्रमको पुस्तिका सबैको पहुँचमा पुग्ने गरी सार्वजनिक गरिएको उनले बताए । सो कार्यक्रममा आयोगका सचिव डा मुकुन्दप्रसाद पौड्याल र उपसचिव कपिलप्रसाद उपाध्यायले सूचनाको हकका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।





