पु.समाचार

राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने सरकारको निर्णय

११ पुष, काठमाडौं । राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गरिने भएको छ । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको बैठकले संघीय संसद् राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउन राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले दिएको जानकारीअनुसार मन्त्रालयगत एजेन्डाका साथै राष्ट्रिय सभाको हिउँदे अधिवेशन बोलाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो । मन्त्री त्रिपाठीले दिएको जानकारीअनुसार राष्ट्रिय सभाको हिउँदे अधिवेशन पुस १७ गतेका लागि आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गरिएको छ ।

मन्त्रिपरिषद्को बैठक शुक्रबार राति साढे ९ बजेपछि बसेको थियो । मन्त्रिपरिषद्को बैठकमा नयाँ मन्त्रीहरूलाई स्वागत गरिएको बताइएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार ७ बजेपछि ८ मन्त्री र एक राज्यमन्त्री थपेका थिए । उनीहरूले राष्ट्रपति र प्रधानमन्त्री समक्ष शपथग्रहण गरेका थिए ।