राजनीति

दाहालसंग दुई घण्टा वार्ता गरेको चिनियाँ टोलीले नेपाललाई पनि भेट्यो

१३ पुष, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद बिघटन गरेपछि दुई चिरा बनेको नेकपा बिबाद साम्य पार्न आएको चिनियाँ टोलीले आज बिहान दाहाल-नेपाल समुहका शिर्ष नेताहरुसंग भेटवार्ता गरेको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालसंग दुई घण्टा वार्ता गरेको उक्त टोलीले सोहि समुहका माधव नेपालसंग पनि भेटवार्ता गरेको छ ।

चिनियाँ प्रतिनिधिमण्डल र नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच दुई घण्टा भेटवार्ता भएको थियो । खुमलटारस्थित प्रचण्डनिवासमा भएको करिव दुई घण्टाको भेटवार्ता के कुरा भयो भन्ने केही खुलाइएको छैन ।

यस्तै उक्त टोलीले नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालसंग भेटवार्ता गरेको छ । बानेश्वरको एभरेष्ट होटलमा नेपाल र चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको चार सदस्यीय टोलीबीच भेटवार्ता भइरहेको हो । खुमलटारपछि नेपाललाई भेट्न चिनियाँ टोली बानेश्वर आएको हो ।

आइतबार काठमाडौं आएको चिनियाँ टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरिसकेको छ । टोलीले जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलाई पनि भेट्ने कार्यक्रम छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका केही नेतालाई पनि भेट्ने कार्यक्रम छ ।

नेकपा विभाजनमा पुगेपछि आएको चिनियाँ टोलीले सो पार्टीको आन्तरिक विवादमा चासो राखेको बुझिएको छ । आइतबार दिउँसो करिब साढे एक बजे चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ येचौको नेतृत्वमा चार सदस्यीय टोली नेपाल आएलगत्तै राजनीतिक भेटवार्ता तीव्र पारेको छ ।