१३ पुष, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संविधानविरुद्ध कदम चालेर राजनीतिक अस्थितरतालाई निरन्तरता दिएको टिप्पणी गरेका छन् ।
संसद विघटनविरुद्ध नेपाली कांग्रेसले आयोजना गरेको निर्वाचन क्षेत्र स्तरीय विरोध प्रदर्शनमा सोमबार कोटेश्वर चोकमा सम्बोधन गर्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् । उनले राजनीतिक अस्थिरतालाई अन्त्य गर्न संविधानमा व्यवस्था गरिएपनि ओलीले संविधानविरुद्ध कदम चालेर राजनीतिक अस्थितरतालाई निरन्तरता दिएको बताएका हुन् ।
प्रवक्ता शर्माले ‘अन्य देशमा सरकार बन्यो चलाउनका लागि, हाम्रो देशमा सरकार बन्यो ढलाउनका लागि’ भन्ने भनाई स्थापति हुन लागेको बताएका छन् । उनले केपी ओलीले देखाएको नक्कली सपनाको भ्रममा नेपाली जनता परेको पनि बताएका छन् ।
ओलीले बाँढेको सपना नेपाली जनताको सपनामै दुर्घटनामा परेको उनले टिप्पणी गरे । उनले नेपाली कांग्रेसले ओली समूह वा नेपाल-दाहाल समूह कसैलाई पनि साथ नदिने बताए । उनले संसद विघटनमा पहिलो दोषी केपी ओली, दोस्रो दोषी प्रचण्ड, तेस्रो दोषी माधव कुमार नेपाल र चौथो दोषी राष्ट्रपति विद्यादेवी भण्डारी रहेको बताए ।
उनले राष्ट्रपति भण्डारीलाई संवैधानिक राष्ट्रपतिको गरिमा कसरी कायम गर्ने भन्ने कुरा डा.रामवरण यादवबाट सिक्न अनुरोध गरेका छन् ।





